तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र जारी गर्दै
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
772
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले सोमबार २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत १ वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ निष्कासन गर्न लागेको हो।
यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुनेछ भने लगानीकर्ताले अर्धवार्षिक रूपमा ब्याज प्राप्त गर्नेछन्। बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। आज दिउँसो २ बजे हुने अनलाइन बोलकबोलमा सहभागीहरूले ब्याजदरमा आधारित भएर बहुब्याजदरमा समेत प्रस्ताव पेस गर्न सक्नेछन्।
ऋणपत्रको अन्तिम ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण गरिनेछ। प्राप्त प्रस्तावित ब्याजदरहरूलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान गरिएको रकमसम्मको सीमाभित्र रहेर एकल ब्याजदर कायम गरिने राष्ट्र बैंकले जनाएको छ। सो एकल ब्याजदर वा सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सहभागीहरूलाई ऋणपत्र बिक्री गरिनेछ। वित्तीय प्रणालीमा रहेको अधिक नगद प्रवाहलाई नियन्त्रण गर्दै मौद्रिक सन्तुलन कायम राख्न राष्ट्र बैंकले यो कदम चालेको हो।