नाम दर्तासँगै बन्दसत्रको तयारी तीव्र, यस्तो छ प्रदेशगत उपस्थितिको आँकडा
आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
1.9k
Shares
काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बिहानैदेखि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया पुनः सुरु भएको छ। आइतबार उत्साहजनक रूपमा २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएकोमा बाँकी रहेका र छुटेका प्रतिनिधिहरूका लागि आज बिहान ८:३० बजेदेखि नै दर्ता कार्यलाई निरन्तरता दिइएको हो।
महाधिवेशन व्यवस्थापनका लागि प्रदेशगत रूपमा आठवटा छुट्टाछुट्टै स्टलहरूको व्यवस्था गरिएको छ। फोकल पर्सन समन्वय समितिका संयोजक युवराज पाण्डेयका अनुसार, नाम दर्ता आज बिहान ११ बजेसम्म मात्र सञ्चालन हुनेछ।
आइतबारको तथ्याङ्क हेर्दा सबैभन्दा बढी मधेस प्रदेशबाट ४४६ र बागमती प्रदेशबाट ४३२ प्रतिनिधि दर्ता भएका छन् भने कोशीबाट ४२५, लुम्बिनीबाट ३९८ र गण्डकीबाट २९६ जनाको उपस्थिति देखिएको छ। कर्णाली, सुदूरपश्चिम र भ्रातृ संगठनहरूबाट पनि उल्लेख्य सहभागिता रहेको छ।
आजै सुरु हुने भनिएको बन्दसत्रको समय भने केही हेरफेर भएको छ। सुरुमा बिहान ८ बजेका लागि तय गरिएको बन्दसत्र केही प्राविधिक कारणले ढिलाइ भएको आयोजकले जनाएका छन्। नाम दर्ता प्रक्रिया सम्पन्न भएलगत्तै पार्टीको नीति, संगठन र भावी राजनीतिक दिशाबारे छलफल गर्न बन्दसत्र सुरु हुनेछ, जसमा महामन्त्रीद्वयले तयार पारेका महत्वपूर्ण प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूले आफ्नो धारणा राख्नेछन्।