arrow

कांग्रेस विशेष महाधिवेशन आजबाट: पार्टी सङ्गठन झन् बलियो हुने महामन्त्रीद्वयको दाबी

विधान रक्षाका लागि विशेष महाधिवेशन आजबाट, ५० जना अतिथिसहित ५० हजारको उपस्थितिको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
gagan-bishwo-congress-23-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको पार्टीको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। पार्टी विधानको धारा १७ (२) को भावनालाई आत्मसात् गर्दै डाकिएको यस विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुने तय भएको छ।

महामन्त्रीद्वयले एक संयुक्त विज्ञप्ति जारी गर्दै यो महाधिवेशनले पार्टीभित्र नयाँ ऊर्जा भर्ने र सङ्गठनलाई झन् बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले विधानको पालना र पार्टीलाई जीवन्त बनाउनका लागि विशेष महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधिहरूलाई हार्दिक आह्वान गरेका छन्।

महाधिवेशनको औपचारिक उद्घाटन हुनुअघि बिहान ११ बजे काठमाडौँका विभिन्न ६ वटा मुख्य स्थानहरू सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, पद्मकन्या क्याम्पस र कुपण्डोलबाट जुलुस निकालिनेछ। जनपरिचालन समितिका अनुसार यी स्थानहरूमा भेला भएका नेता तथा कार्यकर्ताहरू र्‍यालीसहित भृकुटीमण्डप पुग्नेछन्। उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी विशेष मञ्च तयार पारिएको छ भने मञ्चको अगाडि करिब ६ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको छ।

विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्नेछन्। आयोजकका अनुसार यस पटकको विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन। देशभरबाट आएका ३ हजार ६०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको आवास र खानाको प्रबन्ध काठमाडौँका विभिन्न स्थानमा मिलाइएको छ। प्रतिनिधिहरूको नाम दर्ता आज बिहान ८ बजेदेखि नै भृकुटीमण्डपको मूल ढोकामै सुरु भइसकेको छ।

बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ बनाउन र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माणका लागि यो महाधिवेशन अपरिहार्य रहेको महामन्त्रीद्वयको ठहर छ। गत असोज २९ गते ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो। पार्टीको संस्थापन पक्षले यसप्रति असहमति जनाए पनि महामन्त्रीद्वयले भने आफूहरू पार्टीलाई एकढिक्का राख्न कटिबद्ध रहेको बताएका छन्। आजको उद्घाटन सत्रपछि भोलि पुस २८ गते बिहानदेखि बन्दसत्र सुरु हुने सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ