विशेष महाधिवेशनको समर्थन गर्दै चन्द्र भण्डारी र सुनील शर्माले भने कांग्रेस फुट्न दिँदैनौँ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
931
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेताहरू डा. चन्द्र भण्डारी र डा. सुनील शर्माले पार्टीलाई फुटबाट जोगाउन 'एकता अभियान' सुरु गरेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले आइतबारका लागि विशेष महाधिवेशन आह्वान गरेपछि पार्टी विभाजनको खतरा बढेको भन्दै नेताहरूले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी दुवै पक्षलाई संयम हुन र एकजुट हुन दबाब दिएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै नेता डा. चन्द्र भण्डारीले आफूहरू कुनै पनि हालतमा पार्टी फुट्न नदिने कित्तामा उभिएको स्पष्ट पारे। उनले भोलिदेखि सुरु हुने विशेष महाधिवेशनलाई 'नीति महाधिवेशन'को रूपमा लिएर पार्टी सभापति शेरबहादुर देउवालाई पनि सहभागी हुन आग्रह गरे।
"अहिले हामी पार्टी मिलाउने पक्षमा छौँ र मुलुकलाई संकटबाट जोगाउन पनि कांग्रेस एकतावद्ध हुनु अनिवार्य छ," भण्डारीले भने, "यो महाधिवेशनमा सभापतिसहितका सबै नेताहरू सहभागी भएर एकताको सन्देश दिनुपर्छ।"
अर्का नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनमा संस्थापन पक्षका नेताहरू पनि सहभागी हुने विश्वास व्यक्त गरे। उनले आफूहरू सभापति देउवालाई अपमानित गर्ने पक्षमा नरहेको बताउँदै सम्मानजनक बिदाइको वातावरण बनाउन चाहेको उल्लेख गरे।
"हामी सभापति देउवाको सम्मानजनक बिदाइको पक्षमा छौँ र पार्टी एकताका लागि डा. शेखर कोइराला पनि सकारात्मक हुनुहुन्छ," शर्माले दाबी गरे।
विशेष महाधिवेशनको अघिल्लो दिन आएको यो मध्यमार्गी प्रस्तावले कांग्रेसभित्रको बढ्दो तनावलाई केही कम गर्ने र संवादको ढोका खोल्ने अपेक्षा गरिएको छ। दुवै नेताहरू शुक्रबार विशेष महाधिवेशन स्थलमै गएर ऐक्यबद्धता जनाएका थिए ।