शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो तर घाँस काटेन - डा चन्द्र भण्डारी
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
3.7k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्रकान्त भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले सभापति देउवाले पार्टीमा धेरै काम गरे पनि उनीहरू काम नलागेको भन्ने प्रतीकात्मक व्याख्या गरेका हुन् ।
सभापति देउवा अब प्रधानमन्त्री बनेपछिका काम र निर्णय के गर्ने भन्ने विषयमा पर्याप्त पूर्व तयारी हुनुपर्नेमा उनले जोड दिए । नेता भण्डारीले पार्टीको प्रशिक्षण कार्यक्रमलाई धेरै सुधार्नुपर्नेमा ध्यानाकर्षण गराउँदै प्रशिक्षणका विषय र पात्रहरू परिवर्तन गर्न सुझाव दिए ।
पार्टीको भ्रातृ संगठनमा निर्वाचन हुन नदिएर मनोनित गर्दा कामकाजी हुन नसकेको उल्लेख गर्दै उनले भने "समिति आफूले बनाउने चलाउन अर्कालाई दिने गर्दा काम लाग्न सकेनन् ।"
नेता भण्डारीले आगामी निर्वाचनलाई नकारात्मक असर नपर्ने गरी पार्टीको महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।
"सामाजिक सञ्जालमा उठेका विषयवस्तुलाई हामीले नजिकबाट नियाल्ने र सुन्ने गर्नुपर्छ, हाम्रा तिनै तहका सरकारका काम कारबाहीलाई निर्मम समीक्षा गरेर सुधारतर्फ लाग्नुपर्छ" केन्द्रीय सदस्य भण्डारीले भने ।
उनले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति पार्टीको रसिद काटेर फर्किदा राजनीति प्रतिको वितृष्णा र आलोचना अझ बढ्ने भन्दै चिन्ता व्यक्त गरे ।
नेता भण्डारीले निजामती कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयक, जलस्रोत नीति, युवाशक्तिको पलायन, कृषकलाई मल बिउलगायत अनुदान, रूपन्देही र मनाङमा हुने उपनिर्वाचन लगायतका विषयमा पनि धारणा राखेका थिए ।
गत असार १६ गतेदेखि चलिरहेको बैठककमा पदाधिकारीहरूले जवाफी सम्बोधन गरेपछि निर्णय आजै सुनाउँदै सम्पन्न गर्ने तयारी छ ।