arrow

राप विशेष महाधिवेशनको

सबैलाई एकताबद्ध गरेर लैजानेबारे छलफल जारी छ: धनराज गुरुङ

"अन्तिमसम्म आशा मारौँ कहीँ न कहीँबाट सबैलाई मिलाएर लैजाने कुरामा हाम्रो छलफल भइरहेको छ"

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
dhanraj-gurung-13-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनलाई लिएर देखिएको तीव्र विवादका बीच उपसभापति धनराज गुरुङले पार्टीलाई एकताबद्ध बनाएर लैजान छलफल जारी रहेको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्रको आन्तरिक कलहलाई व्यवस्थापन गरी एकता जोगाउनु नै अहिलेको मुख्य चुनौती भएको उल्लेख गरे।

विशेष कि नियमित महाधिवेशन? पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरिसकेका छन् ।

उनीहरूले विधानको पालना र नयाँ ऊर्जाका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित यो कदम चालेका हुन्। अर्कोतर्फ, संस्थापन पक्षले भने विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै नियमित १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। यही अन्तरद्वन्द्वका बीच उपसभापति गुरुङले दुवै पक्षलाई मिलाउने प्रयास भइरहेको जानकारी दिएका हुन्।

"अन्तिमसम्म आशा मारौँ" "कहीँ न कहीँबाट सबैलाई मिलाएर लैजाने कुरामा हाम्रो छलफल भइरहेको छ," उपसभापति गुरुङले भने, "पार्टीलाई झगडा हुने ठाउँमा नपुर्‍याऔँ, सबैको चाहना पार्टी बलियो होस् भन्ने नै हो।" उनले पार्टीमा नेताहरूले गरेको त्याग र बलिदानलाई सम्झिएर एक हुनुपर्नेमा जोड दिए। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा पार्टीभित्र देखिएको यो किचलोले कार्यकर्तामा अन्योल सिर्जना गरेको छ।

संस्थापन पक्षले विशेष महाधिवेशनलाई 'पार्टी विभाजनको बीउ' भनेको छ भने महामन्त्रीद्वयले यसलाई 'पार्टी सुदृढीकरणको अभियान' भनेका छन्।

उपसभापति गुरुङको यो लचिलो अभिव्यक्तिले कांग्रेसभित्र सहमति खोज्ने बाटो अझै बन्द नभएको सङ्केत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ