arrow

गगनलाई बुद्धिजीवीको साथ

विशेष महाधिवेशनको गृहकार्यमा गगन: बुद्धिजीवीले भने- "यो 'पोइन्ट अफ नो रिटर्न' हो, नझुक्नुस्"

पुस २७ को विशेष महाधिवेशन रोक्न नसकिने बुद्धिजीवीको निष्कर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
gagan-buddhijibi-sujab.jpg

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई देशका प्रबुद्ध बुद्धिजीवीहरूले पार्टीभित्र विधि र पद्धति स्थापित गर्न दृढतापूर्वक विशेष महाधिवेशनको दिशामा अघि बढ्न सुझाव दिएका छन्। बुधबार काठमाडौँमा महामन्त्री थापासहित विशेष महाधिवेशन पक्षधर नेताहरूले आयोजना गरेको छलफलमा सहभागी बुद्धिजीवीहरूले पार्टीको रूपान्तरण र पुस्तान्तरणका लागि यो कदम अनिवार्य भएको बताए।

छलफलमा सहभागी बुद्धिजीवी सुदर्शन आचार्यले संस्थापन पक्षले विधि मिचेर असहमत पक्षलाई किनारा लगाउन खोजेको आरोप लगाए। उनले महामन्त्रीहरूलाई कारबाही हुनसक्ने चर्चाबारे टिप्पणी गर्दै भने, "पार्टी विधान र संविधानअनुसार चल्दा कारबाही गर्ने कुनै आधार छैन। कारबाही गर्नेले नै उल्टो बाटो रोजेको अवस्थामा तपाईँहरू डराउनु पर्दैन, बरु देशभरका महाधिवेशन प्रतिनिधिलाई कन्भिन्स गरेर अघि बढ्नुस्।"

अर्का बुद्धिजीवी अरुण सुवेदीले अहिलेको परिस्थिति 'फर्कन नसकिने बिन्दु' (पोइन्ट अफ नो रिटर्न) मा पुगिसकेको विश्लेषण गरे। उनले यदि विधानअनुसार गणपूरक संख्या (बहुमत प्रतिनिधि) पुग्छ भने विशेष महाधिवेशन गरेरै वैधानिक निकास खोज्न सुझाए। तर, उनले कुनै पनि हालतमा पार्टी भने फुट्न नहुनेमा जोड दिए। बहुमत प्रतिनिधिका बीचबाट चुनिएर आउने नेतृत्वले मात्रै वास्तविक वैधानिकता पाउने उनको तर्क थियो।

छलफलमा प्रताप पौडेल र विश्वकुमार केसी लगायतले कांग्रेसले नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता औँल्याए। केसीले पूर्वउपकुलपति केदारभक्त माथेमाको भनाइ उद्धृत गर्दै भने, "नेताले जोखिम लिन सक्नुपर्छ, जोखिम नलिनु नै सबैभन्दा ठूलो जोखिम हो।" उनीहरूले रूपान्तरित कांग्रेसले मात्रै आजका युवाहरूको भावना र राष्ट्रिय राजनीतिक चुनौतीको सामना गर्न सक्ने बताए।

पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको असहमति हुँदाहुँदै पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गते काठमाडौँमा दोस्रो विशेष महाधिवेशन आह्वान गरिसकेका छन्। उनीहरूले नेतृत्वलाई यसको अपनत्व लिन आग्रह गरे पनि संस्थापन पक्ष भने यसलाई विधानविपरीतको कदम भन्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ