राष्ट्रिय सभा सदस्य छनोट प्रक्रियाप्रति अर्जुननरसिंह केसीको आपत्ति
कांग्रेसमा ६०-४० को भागबण्डाले लोकतन्त्र लज्जित भयो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
1.5k
Shares
काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय सभा सदस्यका उम्मेदवार छनोट प्रक्रियाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै यसलाई 'लोकतन्त्रकै लागि लज्जास्पद' कदम भएको बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केसीले पार्टी नेतृत्वले लोकतान्त्रिक मूल्य-मान्यता र पद्धतिको धज्जी उडाएको आरोप लगाए।
योग्यता र योगदानको कदर भएन नेता केसीका अनुसार राष्ट्रिय सभाका लागि ९ जना उम्मेदवारहरूको नाम टुङ्ग्याउँदा व्यक्तिको योग्यता, क्षमता, पार्टीमा पुर्याएको योगदान र औचित्यमाथि कुनै पनि औपचारिक छलफल भएन। "चार दिनसम्म बैठक बस्यो, तर कुनै व्यक्तिको विषयमा छलफल नै भएन," उनले भने, "सभापतिजीले सिधै नामावली प्रस्तुत गर्नुभयो र बिना कुनै बहस त्यसलाई पारित गरियो। यो कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीका लागि दुःखद पक्ष हो।"
भागबण्डाको राजनीति र समावेशिताको अभाव पार्टीभित्र 'इतर र भितर' (संस्थापन र संस्थापन इतर पक्ष) बीच ६०–४० को भागबण्डाका आधारमा मात्र नामहरू ल्याइएको दाबी गर्दै उनले प्रक्रियागत पारदर्शिताको अभाव रहेको औँल्याए। उनले विशेषगरी आदिवासी जनजातिको प्रतिनिधित्व शून्य हुनु र दुःख पाएका, सङ्घर्ष गरेका राजनीतिज्ञ तथा कला-साहित्य क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई उपेक्षा गरिएकोमा आपत्ति जनाए।
लज्जास्पद प्रक्रियाको संज्ञा केसीले पार्टीको निर्णयप्रति औपचारिक असहमति राख्दै भने, "नेपाली कांग्रेस पद्धति मात्र बसाल्ने होइन, प्रक्रियाको पनि महत्वपूर्ण अङ्ग हो। तर, अहिले जुन ढङ्गले लिस्ट ल्याएर प्रस्तुत गरियो, त्यसले लोकतान्त्रिक अभ्यासको अपमान गरेको छ।"
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले ९ सिट पाउने गरी नेकपा (एमाले) र लोसपासँग चुनावी तालमेल गरेको छ। सोही तालमेलअनुसार आजै मनोनयन दर्ता गर्नुपर्ने समयमा पार्टीभित्रको यो विवादले चुनावी सरगर्मीलाई थप बढाएको छ।