सानेपामा कांग्रेसको 'अग्निपरीक्षा': विशेष महाधिवेशनको दबाब र चुनावी तालमेलको रस्साकस्सी
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
2k
Shares
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। वर्तमान समसामयिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक सांगठनिक विषयहरूमा छलफल गर्न बोलाइएको यस बैठकमा विशेष महाधिवेशनको बढ्दो दबाब मुख्य एजेन्डाका रूपमा रहेको छ।
पछिल्लो समय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशनको तयारीलाई तीव्रता दिएपछि पार्टीभित्र संस्थापन र इतर पक्षबीच विवाद चुलिएको छ।
आजको बैठकले विशेष महाधिवेशनको औचित्य, क्रियाशील सदस्यता वितरणमा देखिएका विवाद र आगामी निर्वाचनको तयारीका सम्बन्धमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।
महामन्त्री पक्षले विशेष महाधिवेशनका लागि दबाब बढाइरहेका बेला संस्थापन पक्षले भने यसअघि नै १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेकाले बैठकमा दुवै पक्षबीच सघन छलफल हुने देखिएको छ।
आसन्न निर्वाचनमा पार्टीको रणनीति र आन्तरिक एकता कायम गर्ने विषयमा हुने ठोस निर्णयलाई लिएर देशभरका कांग्रेस कार्यकर्ता र आम राजनीतिक वृत्तमा निकै उत्सुकता बढेको छ।