शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
पार्टी फुटाउने होइन, जोगाउने हो: विशालनगर बैठकमा नेताहरूको एकै स्वर
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
2.6k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीभित्र चुलिँदै गएको आन्तरिक द्वन्द्व र महाधिवेशनको विवाद सुल्झाउन राजनीतिक सक्रियता बढाएका छन्। शनिबार विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा डा. कोइरालाले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति र विशेष महाधिवेशनको माग गर्ने नेताहरूसँग गहन छलफल गरे।
छलफलको मुख्य विषय पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले आगामी २०८३ वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७–२८ मा विशेष महाधिवेशन बोलाउने तयारी गरेपछि कांग्रेसभित्रको संकट गहिरिएको छ। डा. कोइरालाले यस विषम परिस्थितिमा दुवै पक्षलाई कसरी समन्वय गरी पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा लैजान सकिन्छ भन्नेबारे नेताहरूको राय लिए।
विशेष महाधिवेशन पक्षधरको अडान छलफलमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्ने र नेतृत्व गर्ने टोलीका तर्फबाट नेता देवराज चालिसेले आफ्नो धारणा राखेका थिए। उनले विधानको भावनाअनुसार विशेष महाधिवेशनको विकल्प नरहेको जिकिर गरे। यद्यपि, डा. कोइरालाले भने यसअघि नै केन्द्रीय समितिबाहेकले बोलाउने विशेष महाधिवेशन अवैधानिक हुन सक्ने संकेत गर्दै समन्वयमा जोड दिएका छन्।
समन्वयको प्रयास र निष्कर्ष नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारका अनुसार, डा. कोइरालाले विशेष महाधिवेशनका हस्ताक्षरकर्ता र नेतृत्वकर्ताहरूसँग थप परामर्श गरी एउटा साझा धारणा बनाउने प्रतिबद्धता व्यक्त गरे। बैठकमा सहभागी नेताहरूले पार्टी फुटको सँघारमा पुगेको भन्दै कुनै पनि हालतमा एकता कायम राखेर निर्वाचनमा होमिनुपर्नेमा जोड दिएको परियारले बताए। उनले भने, “नेता शेखर कोइरालाले विशेष महाधिवेशनका हस्ताक्षरकर्ता नेतृत्वकर्ताहरूसँग बसेर, उहाँहरूसँग परामर्श गरेर एउटा धारणा बनाएर हामी अगाडि बढ्ने कुरामा आज छलफल टुंगिएको छ।”
सहभागी नेताहरू डा. कोइरालाले डाक्नुभएको उक्त बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू दीपक गिरी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, तेजुलाल चौधरी र विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसेलगायतको उपस्थिति थियो। डा. कोइरालाको यो पहललाई कांग्रेसभित्रको 'संस्थापन' र 'इतर' पक्षबीचको खाडल पुर्ने प्रयासका रूपमा हेरिएको छ।