महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिलाई भने– पुसभित्र विशेष महाधिवेशन हुन्छ, काठमाडौँमा भेटौँला
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
1.9k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि विधानअनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई–तीन दिनभित्रै टुंगोमा लाग्ने उनको भनाइ छ । पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएकाले शुक्रबारको कार्यसम्पादन समिति बैठकमा आफूले फरक मत राखेको उनको भनाइ छ ।
उनले भने, ‘अझै केही दिन प्रतिक्षा गर्छौं, पार्टी सभापति, कार्यवाहक सभापतिज्यूहरुले पार्टी विधानको उल्लङ्घन गर्न पाइँदैन भन्ने कुरा उहाँहरुले बुझ्नुभएको छ । एकदुई दिनभित्र आएर केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्नुभयो र विषेश महाधिवेशन बोलाउनुभयो भने पार्टीका लागि सर्वोत्तम कुरा त्यही नै हुन्छ । हामी पनि त्यही चाहन्छौँ । हामी अनुरोध गर्छौं । यदि पार्टीको जिम्मेवार नेताले विधानको पालना गर्नुभएन भने मैले पार्टी महामन्त्री भएर यो कुरा टुलुटुलु हेरेर बस्न मिल्दैन । बस्न सक्दिनँ । विधानको धारा १७ (२) को पालना मैले गर्छु । विशेष महाधिवेशनको आयोजना गर्छौं । यो पुसभित्रमा काठमाडौँमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको आयोजना हुन्छ । कसले गर्छ भन्ने कुरा एकदुई दिनभित्रमा प्रष्ट हुन्छ । देशभरीका महाधिवेशन प्रतिनिधि साथिहरुलाई अनुरोध गर्न चाहन्छु, तपाई पुस मसान्तमा काठमाडौँमा आउने कुराको लागि औपचारिक निम्तो केही दिनमा आउँछ । काठमाडौंमा भेट हुन्छ ।’
उनले पुस मसान्तभित्र हुने विशेष महाधिवेशनले पार्टीको अगामी नेतृत्व, नीति र कार्यदिशा तय गर्नेसमेत जिकिर गरे । उनले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।