arrow

महाधिवेशन वैशाखमा सार्ने देउवा पक्षको प्रस्ताव, पुसकै अडानमा महामन्त्रीद्वय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
congress-karyasampadan.jpg

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले नयाँ र जटिल मोड लिएको छ। पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्तुत गरेपछि संस्थापन र इतर पक्षबीचको टकराव उत्कर्षमा पुगेको हो।

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति खड्काले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन्। संस्थापन पक्षले देशभरको क्रियाशील सदस्यताको टुङ्गो लाग्न बाँकी रहेको प्राविधिक कारण देखाउँदै तत्काल महाधिवेशन सम्भव नभएको तर्क गरेको छ।

यद्यपि पार्टीका दुई महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने यो प्रस्ताव स्वीकार्न तयार देखिएका छैनन्। उनीहरूले पार्टीलाई नयाँ नेतृत्व, नयाँ ऊर्जा र स्पष्ट नीतिसहित मात्रै आसन्न निर्वाचनमा लैजानुपर्ने अडान राख्दै आएका छन्। महामन्त्रीद्वयले यसअघि नै पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन बोलाउने तयारी गरिसकेका छन्। उनीहरूको तर्क छ कि नियमित महाधिवेशन गर्न नसक्ने नेतृत्वले विधानको रक्षाका लागि भए पनि विशेष महाधिवेशनको बाटो प्रशस्त गर्नुपर्छ।

पार्टीभित्रको यो गुटगत विवादले गर्दा कांग्रेस अहिले 'नियमित' कि 'विशेष' महाधिवेशन भन्ने अन्योलमा फसेको छ। महामन्त्रीहरूकै दबाबमा यसअघि पुस २६ का लागि नियमित महाधिवेशन तोकिए पनि तयारी शून्य भएपछि अहिले नेतृत्वले त्यसलाई वैशाखसम्म धकेल्ने रणनीति लिएको छ। 

सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू विशेष महाधिवेशनलाई कुनै पनि हालतमा नस्विकार्ने मुडमा छन् भने इतर पक्षले विधानको धारा १७(२) बमोजिम ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरलाई वैधानिक अस्त्रका रूपमा प्रयोग गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ