विशेष महाधिवेशनको विकल्प छैन, नेतृत्वले पार्टी कब्जा गर्न खोजेको मन्सुरको आरोप
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
2k
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीलाई नयाँ नेतृत्व, स्पष्ट नीति र नयाँ कार्यदिशासहित आगामी निर्वाचनमा लैजानुपर्नेमा जोड दिएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान नेतृत्वले महाधिवेशन टार्न खोजेको आरोप लगाउँदै विशेष महाधिवेशनमार्फत विकल्प खोज्नुपर्ने धारणा राखेका हुन्।
सहमहामन्त्री मन्सुरले नियमित महाधिवेशनको औचित्य अब समाप्त भइसकेको भन्दै विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले पार्टीभित्रका परिवर्तनविरोधी शक्तिहरूको षड्यन्त्रलाई चिर्न पनि विशेष महाधिवेशन अनिवार्य भएको बताए। विशेषगरी महामन्त्री गगनकुमार थापालाई पार्टी सभापति र आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर कांग्रेस निर्वाचनमा होमिनुपर्ने उनको भनाइ छ।
उनले वर्तमान नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै आसन्न निर्वाचनमा आफ्ना निकटका मान्छेहरूलाई टिकट बाँड्न नपाइने डरले महाधिवेशन हुन नदिने खेल भइरहेको दाबी गरे। "महाधिवेशन भयो भने आफ्ना मान्छेलाई मात्र टिकट बाँड्न मिल्दैन, त्यसैले पार्टी कब्जा गर्ने प्रयास भइरहेको छ जुन स्वीकार्य छैन," मन्सुरले भने। उनले महाधिवेशन नगरी "मै नेता हुँ" भनिरहने प्रवृत्तिले पार्टीलाई हित नगर्ने बताउँदै विशेष महाधिवेशनको प्रक्रिया अघि बढिसकेकाले अब त्यसैबाट निकास खोज्नुपर्ने जिकिर गरे।