काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि आज २५ अर्ब बराबरको एक वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ।
केन्द्रीय बैंकले अनलाइन बिडिङ प्रणालीमार्फत मध्याह्न २:०० बजेसम्म बोलकबोल गरी यो ऋणपत्र बिक्री गर्न लागेको हो।
यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ भने आर्जित ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था छ।
बोलकबोलमा सहभागी हुन चाहने संस्थाहरूले न्यूनतम ५ करोड र बढीमा ५ करोडले भाग जाने (गुणक) रकमका लागि आवेदन दिन सक्नेछन्।
आयोगले स्वीकृत गरेको बोल रकम पुस १५ गते सम्बन्धित संस्थाको खाताबाट कट्टा गरी सोही दिन ऋणपत्र जारी गरिनेछ। यो ऋणपत्रलाई बैंकहरूले खुला बजार कारोबारमा समेत प्रयोग गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।