चाँदी आयात गर्ने उद्योगलाई राहत: राष्ट्र बैंकले तोक्यो यस्तो सुविधा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
763
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि उपलब्ध गराइने विदेशी मुद्रा सटही सुविधामा महत्वपूर्ण हेरफेर गरेको छ। आज एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै केन्द्रीय बैंकले यसअघिको 'पटक' को आधारमा दिइने सुविधालाई परिवर्तन गरी 'मासिक कोटा' प्रणालीमा लगेको हो।
नयाँ व्यवस्थाअनुसार अब चाँदीजन्य उद्योगहरूले कच्चा पदार्थका रूपमा चाँदी आयात गर्न महिनामा अधिकतम २० लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटही सुविधा पाउनेछन्। त्यसैगरी, अन्य व्यवसायीहरूका लागि भने मासिक चार लाख अमेरिकी डलरको सीमा तोकिएको छ।
यसअघि उद्योगले एकपटकमा पाँच लाख डलर र अन्य व्यवसायीले एक लाख अमेरिकी डलर बराबरको सटही सुविधा पाउने व्यवस्था थियो। पटक-पटक सटही सुविधा लिनुपर्ने झन्झटलाई हटाउन राष्ट्र बैंकले मासिक सीमा तोकिदिएको हो। यो नयाँ व्यवस्थाले विशेष गरी चाँदीका गरगहना र भाँडाकुँडा निर्यात गर्ने उद्योगहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।