नेपालको लोकतान्त्रिक आन्दोलनको धरोहर नेपाली कांग्रेस गत भदौमा भएको जेन-जी नामक विध्वंशपछि निकै सुस्त गतिमा चलिरहेको देखिन्छ । विगतदेखि नै कांग्रेसको नेतृत्व र यसले गर्ने निर्णयले मुलुकको राजनीतिक वृत्तमा महत्वपूर्ण अर्थ राख्दै आईरहेको परिप्रेक्षमा अहिले भने कांग्रेस अनिर्णित जस्तो भइरहेको छ । गत मंसीर महिना भित्रमा नै पार्टीको नियमित महाधिवेशन गरिसक्नुपर्ने कांग्रेस पुस मसान्तसम्म पनि महाधिवशेन सम्पन्न गर्न नसक्ने परिस्थितिमा पुगेको छ । त्यस्तै आतंककारी हमलाको शैलीमा देशका मुख्य न्यायिक तथा प्रशासनिक निकायहरू सहित व्यक्तिगत सम्पत्तिमा भएको अपूरणीय क्षति र हातपात समेतका घटनाबाट सिर्जित सामाजिक, राजनीतिक तथा आर्थिक उथलपुथलका सन्दर्भमा पार्टीगत तवरले आजसम्म कांग्रेसले कुनैपनि निर्णय गर्न सकिरहेको छैन ।
महामानव बीपी कोइरालाको निधनपछि उनले प्रतिपादन गरेको नेपाली माटो सुहाउँदो ‘प्रजातान्त्रिक समाजवाद’ लाई भुलेर वामपन्थी पथमा रुमल्लिएको कांग्रेस विशेषगरी २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनपछि कहिले प्रचण्डपथ त कहिले ओलीवाद भित्रको कुहिरोमा लुकामारी गर्दै आयो भने यही जालोमा अझैपनि रमाईरहने हो कि भन्ने आशंका बढिरहेको छ । किनकl जेनजी विध्वंशपछि कांग्रेसले नयाँ नीति, कार्यक्रम तथा योजना अवलम्बन गर्न नसक्नुका साथै निर्धारित समयमा पार्टीको नयाँ नेतृत्व चयन गर्ने सन्दर्भमा समेत असफल हुँदै गईरहेको देखिन्छ । खासमा कांग्रेस आन्तरीक विवादको कारण शिथिल भईसकेको हुँदा मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका गौण बन्दै गईरहेको आभाष हुन थालेको छ ।
विगतमा कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा सदनदेखि सडकसम्म नेपालको राजनीतिमा कुनै पनि भूमिका र योगदान नभएका रवि लामिछानेको अनावश्यक प्रचार गर्दै हिँड्दा सुशीला, बालेन, हर्क, दुर्गा, सुदन, कुलमान जस्ता अराजक पात्रहरूको उदय नेपालको राजनीतिमा भयो, जुन कांग्रेसको लागि अभिषाप भइरहेको छ, हुनेछ । अहिले यिनै पात्रहरूको हालीमुहालीमा राज्य सञ्चालन भइरहेको छ भने यिनैले आगामी फागुन २१ गतेका लागि निर्वाचन सम्पन्न गर्ने भन्दै विघटित संसदको पहिलो पार्टी कांग्रेसमाथि नै आक्रमण गरिरहेका छन् ।
कांग्रेस संसदीय शासन व्यवस्थामा विश्वास राख्ने पार्टी हो र यही व्यवस्थाको लागि कांग्रेसले २००७ सालभन्दा अगाडिदेखि अनवरत रुपमा संघर्ष गर्दै आइरहेको छ, जुन कुरालाई नेपालको संविधानले पनि आत्मसाथ गरेको छ । तर आजसम्म नेपालको कुनै पनि संसदले नियमित रुपमा विना अवरोध आफ्नो पूरा कार्यकाल काम गर्न किन पाएन, जनताद्धारा निर्वाचित संसदले आफ्नो पूरा कार्यकाल आफैं जोगाउन सक्दैन भने देश र जनतालाई कसरी जोगाउँछ भन्ने प्रश्नको उत्तर कांग्रेसले सर्वसाधारण जनताले बुझ्ने भाषामा दिनुपर्ने बेला आएको छ ।
वास्तवमा पछिल्लो समय नेपाली राजनीतिमा उदाएका नयाँ दल तथा पात्र र नेपालका वामपन्थी दलहरू सत्ता समीकरणको अंकगणित बाहेक केही होइनन् भन्ने तथ्य स्थापित हुँदैछ । किनकि यिनीहरूले देश र जनताको पक्षमा केही गरेका छैनन्, गर्दैनन् तर नगरेको काम गरेको हो भनेर प्रचार गर्न यिनीहरू माहिर छन् ।
कांग्रेसले १०४ वर्ष लामो निरंकुश जहानियाँ राणाशासनबाट नेपाली जनतालाई स्वतन्त्र बनाउँदै माओवादीको तथाकथित सशस्त्र युद्धलाई शान्तिपूर्ण मूलधारको राजनीतिमा अवतरण गराई २४० वर्ष लामो राजतन्त्र समाप्त पारी संविधानसभाबाट नयाँ संविधान जारी गराई नेपालको लोकतान्त्रिक आन्दोलनलाई गन्तव्यमा पुर्याउने ऐतिहासिक तथा साहसिक कार्यको नेतृत्व गरिसकेको छ । यही महत्वपूर्ण योगदान गरे वापत अहिले कांग्रेसलाई चौतर्फी आक्रमण भईरहेको छ । यद्यपि कांग्रेसले जथाभावी बोल्ने र अराजकतालाई प्रश्रय दिने काम अहिलेसम्म गरेको छैन, गर्नुहुँदैन । यसो भन्दैमा कांग्रेसमा अब आमूल परिवर्तन नहुने हो भने कांग्रेसप्रतिको जनआस्था भत्कँदै जानेछ ।
अहिले जसले झुट बोल्छ, जो सत्तामा हुँदा जनहितका पक्षमा केही काम गर्दैन, जसले अर्काको आलोचना मात्रै गर्छ, जो चरम भ्रष्टाचारमा लिप्त छ, जसले गरिब जनताहरूलाई ठगेको छ, जसले अतिवादी चरित्रलाई प्रश्रय दिन्छ, जसले साम्प्रदायिकता भड्काउँछ, जसले अबको प्रधानमन्त्री मै हो, म बाहेक अरु बनेर देशको भलो हुँदैन भन्दै हिँड्छ, जो ठगी लगायतका मुद्दामा लामो समय थुनामा रहेर हाल उम्केको छ, यी र यस्तै खालका पात्रहरूले आफैं राम्रो भन्ने भ्रम जनतामा फैलाएर कांग्रेसलाई गलत सावित गर्न खोज्दैछन् । के मुलुक परिवर्तनको प्रक्रिया र विधी यस्तो हुन्छ ? यस्तो गतिविधीलाई कानुनतः निस्तेज गर्न पनि कांग्रेस बढी जिम्मेवार बन्नुपर्दछ ।
अफसोच, यस्ता संघीन विषयवस्तुमा कांग्रेसभित्र छलफल समेत चलेको सुनिँदैन । के यही गतिमा रहने हो भने कांग्रेसले आफ्नो विरासत जोगाउन सक्छ ? अहिले गाउँका बस्तीहरूमा पस्ने हो भने १८ वर्षदेखि ३५ वर्षसम्म र ६० वर्षभन्दा माथिको उमेर समूहमा कांग्रेसप्रतिको आकर्षण निकै कम छ भने पछिल्लो समय थपिएका भनिएको करिब १० लाख मतदाताबाट कांग्रेसले कति भोट प्राप्त गर्दछ ? यसको हिसाब राख्ने वा निकाल्ने ल्याकत अहिलेको कांग्रेसले राख्छ कि राख्दैन ? अर्कोतर्फ नयाँ दलहरूप्रति बढ्दै गएको आकर्षण र एउटै परिवारमा १३ जनासम्म पर्ने गरी वितरण गरिएको क्रियाशील सदस्यताले कसरी कांग्रेसको सुरक्षा गर्दछ ? संसद पुनःस्थापना र निर्वाचनको विषय पेचिलो बनिरहँदा यस्तो संवेदनशील विषयमा गहन छलफल गर्न छोडेर अझैपनि विशेष कि नियमित महाधिवेशन भन्दै बहकिने हो भने कांग्रेसको भविष्य के हुन्छ ? कांग्रेसको महाधिवेशन त पार्टीको विधान तथा नियमावली बमोजिम हुँदा वा गराउँदा कोही कसैलाई आपत्तिको विषय बन्नुपर्ने कारण नै छैन ।
स्मरण रहोस्, कांग्रेस प्रतिनिधीसभाको पहिलो पार्टी हो, जुन अहिले विघटित अवस्थामा छ । संसद विघटन, प्रधानमन्त्री तथा मन्त्रीमण्डलको नियुक्ति शत प्रतिशत असंवैधानिक छ । तर देशको पुरानो र ठूलो संसदीय पार्टीले संसद पुनःस्थापनाको माग राख्दै सम्मानित अदालत प्रवेश गर्न ढिलाई गर्यो । अझै पनि कांग्रेसको एउटा पक्ष पार्टीको निर्णय निर्वाचनमा जाने हो भनिरहेको छ । कुनैपनि हालतमा बन्नै नसक्ने गैरसंसद व्यक्तिको नेतृत्वमा बनेको वर्तमान सरकारले गराउने भनिएको निर्वाचनमा कांग्रेस किन जाने भन्ने पेचिलो विषयमा पार्टीभित्र छलफल हुँदैन । नेपालमा अहिलेसम्म भएका करिब सबै निर्वाचनको नेतृत्व कांग्रेसले गरेको छ ।
कम्तीमा पनि संसदीय शासन व्यवस्थामा संसद रहेको व्यक्ति मात्रै प्रधानमन्त्री बन्न सक्छ, संसदको कार्यकाल पूरा नहुँदै संसद विघटन भएमा सो विषय अदालतमा प्रवेश गरी अदालतले आवश्यक निर्णय गर्दछ र सम्मानित अदालतले गरेको निर्णय वा फैसला हामीले मान्नुपर्दछ भन्ने कुराको ज्ञान कांग्रेसलाई राम्रोसँग छ । तर तीन महिना अघि भएको संसद विघटनको विषयलाई लिएर कांग्रेस सिंगो पार्टी होईन, एउटा पक्ष बल्ल संसद पुनःस्थापनाको माग राख्दै अदालत पुगेको छ । के अबपनि कांग्रेसले यस्ता गम्भीर विषयमा समेत संस्थागत निर्णय नगरी अगाडि बढ्दै जाने हो भने पार्टी चलायमान भईरहला ।
कांग्रेस आफूले गरेको जनहितको कामलाई प्रचार गर्न जान्दैन, सक्दैन । आन्तरीक किचलो गरी पार्टीलाई थिलोथिलो पार्न अरुले सिकाउनु पर्दैन । आमनिर्वाचनमा जतिबेला पनि भाग लिन सक्ने बताउने कांग्रेस आफ्नो आन्तरीक निर्वाचन आवधिक रुपमा गर्न सक्दैन, आफ्नै निर्वाचनमा आफैं डराउँछ । पार्टी सभापति तथा पदाधिकारी बन्ने दौडधुपमा लागेका शीर्ष नेताहरू वर्तमान महामन्त्रीहरूको कारण नियमित महाधिवेशन हुन सकेन भनी आरोप प्रत्यारोपमा मात्रै उत्रिएका छन्, आफूहरूले कुनै भूमिका निर्वाह गर्दैनन् ।
पार्टीभित्र समय सापेक्ष परिवर्तन जरुरी छ भन्ने आवाज रोक्न अघिल्लो पुस्ता कम्मर कसेर लागिरहेको छ, व्यक्ति विशेषलाई इंगित गरी यसलाई कुनैपनि हालतमा बन्न दिनुहुँदैन भन्ने आवाज जबरजस्त लादिएको छ । यस्तो अवस्थाबाट पार्टीका नेता तथा कार्यकर्ताहरू माथि उठ्न नसक्ने हो भने कांग्रेस कदापि बलियो बन्न सक्दैन ।
अब ढिलो चाँडो मुलुकमा निर्वाचन हुन्छ, हुनुपर्दछ । तर निर्वाचन मात्रैले मुलुकलाई निकास दिँदैन । अहिलेसम्म नेपालमा भएका निर्वाचनबाट निर्वाचनको म्यान्डेट बमोजिम देश र जनताको बृहत्तर हितमा कति काम भयो, कति बाँकी छ भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने थियो । हुनत आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड मानिन्छ । तर नेपालमा अहिलेसम्म आवधिक निर्वाचन भएको छैन भन्दा पनि हुन्छ र निर्वाचनले लोकतन्त्रलाई सुदृढ गराउँदै लगेको पनि देखिँदैन । यद्यपि पछिल्लो समय एकपटक भएको आवधिक निर्वाचनले संसदीय व्यवस्थामा अराजकतालाई निम्ता दियो । संसद संसद जस्तो रहेन, अन्ततः विघटन भयो । यद्यपि अझैपनि संसदीय शासन व्यवस्थालाई बलियो बनाउन र संसदलाई पूरा कार्यकाल टिकाई देश र जनताको हितमा अगाडि बढाउने सवालमा आवश्यक कानुन, नीति तथा कार्यक्रमहरूको तर्जुमा गर्ने गरी कांग्रेस अगाडि बढ्नुपर्ने हो ।
अहिले मुलुकमा उत्पन्न विद्यमान परिस्थितिको दिर्घकालिन समाधान भनेको संसद पुनःस्थापना हो । यस विषयमा ढिलै भएपनि कांग्रेसले संस्थागत निर्णय गर्नुपर्दछ । किनकि संवैधानिक व्यवस्था र संसदीय शासन व्यवस्थालाई आत्मसाथ गरेको संविधान विपरीत जसरी संसद विघटन गरियो, त्यो पु्नःस्थापित हुनुपर्दछ । तर यो विषयमा निर्णय गर्ने अधिकार सर्वोच्च अदालतमा निहित रहेको हुँदा अदालतले गरेको निर्णय वा फैसला मान्नुपर्दछ ।
सम्मानित अदालतलाई संसद विघटन र प्रधानमन्त्रीको नियुक्ति संवैधानिक हो भन्नलाई ‘विद्रोह वा आन्दोलन पछिको परिवर्तित परिस्थिती वा आवश्यकताको सिद्धान्त’ भन्दा बाहेक अरु बलियो आधार र कारण छैन । यदि यसैलाई आधार मानेर संसद विघटन सदर गर्ने हो भने भोलीका दिनमा फेरी दुईचार सय मानिस भेला भएर यस्ता घटनाहरू दोहोरिन सक्ने सम्भावना रहन सक्छ भन्नेतर्फ अदालतले पनि सोच्नुपर्दछ । किनकि गत भाद्र २३ र २४ गतेको अराजकताले क्षणभरमा नै संसद र सरकार समाप्त भयो भने न्यायपालिका लगायतका अन्य संरचनाहरूमा ठूलो क्षति भयो ।
अर्कोतर्फ अब हुने निर्वाचनमा कांग्रेस नयाँ नेतृत्व सहित जनतामा जानुपर्ने अपरिहार्य आवश्यकता देखिन्छ । किनकि कांग्रेसका पुराना नेताहरूप्रति जनतामा कुनैपनि आस्था छैन । यस्तो अवस्थामा कांग्रेसमा नेतृत्व मात्रै नयाँ नभई समय सापेक्ष नवीन नीति तथा कार्यक्रम सहित जनतामा जानुपर्ने हुन्छ ।
कांग्रेसले अब नेतृत्व, शैली र स्वभावमा समेत परिवर्तन गर्नुपर्नेछ । कांग्रेसका केही युवा नेताहरूमा जनताले थोरै भएपनि आशाका किरणहरू देखेका छन् । त्यसैले योगदानमा आधारित नेतृत्व र जनतामा केन्द्रित विकासको अवधारणा सहित प्रत्येक जनताको घरदैलोमा पुग्न कांग्रेसले ढिलो गर्नुहुँदैन । जनतालाई अलमलमा पार्ने अभिव्यक्ति र निर्णय गर्नुभन्दा अहिलेको परिस्थितीलाई सामना गर्न सक्ने नेतृत्वको चयन गरी कांग्रेसले विगतमा गरेका वाचा समेत पूरा गर्ने विषयमा जनतामा विश्वासको वातावरण निर्माण गर्नुपर्दछ ।
अर्कोतर्फ कांग्रेसले कसैको अनावश्यक आलोचना तथा टिप्पणी नगरी आफूलाई आफ्नै लयमा अगाडि बढाउने, आफूले गरेका गल्तीहरूमा क्षमायाचना गर्ने, आगामी दिनहरूमा विगतका कमी कमजोरीहरू नदोहोर्याउने, कम्तीमा पनि वामपन्थी पथबाट आफूलाई अलग राख्ने हो भने फेरी जनतामा कांग्रेसप्रतिको मोह बढ्दै जानेछ, जसले देश र जनताको पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्नेछ । (लेखक कानून व्यवसायी हुन्) ।