arrow

रहर चुनाव नहुँदै सत्तामा जाने

विप्लव माओवादीले सरकारविरुद्ध शुरु गर्‍यो आन्दोलन 

वर्तमान अन्तरिम सरकारले 'जेन-जी' आन्दोलनको भावना र मर्मलाई कदर गर्न नसकेको आरोप, सर्वपक्षीय अन्तरिम सरकार' गठन गर्नुपर्ने मुख्य माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
biplavs.jpg

काठमाडौँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा (माओवादी) ले वर्तमान अन्तरिम सरकारका विरुद्ध औपचारिक रूपमा आन्दोलन शुरु गरेको छ। शुक्रबार काठमाडौँमा एक विरोध प्रदर्शन गर्दै महासचिव चन्दले सुशीला कार्की नेतृत्वको सरकारलाई 'कठपुतली' को संज्ञा दिँदै आन्दोलनको घोषणा गरेका हुन्।

सर्वपक्षीय सरकारको गठनको माग गर्दै विप्लव समूहले वर्तमान अन्तरिम सरकारले 'जेन-जी' आन्दोलनको भावना र मर्मलाई कदर गर्न नसकेको आरोप लगाएको छ।

उनीहरूले अहिलेको सरकार भङ्ग गरी सबै पक्षको सहभागिता रहने गरी 'सर्वपक्षीय अन्तरिम सरकार' गठन गर्नुपर्ने मुख्य माग राखेका छन्। महासचिव चन्दले भने, "यो सरकार जनभावना विपरित चल्न खोज्दैछ, यसको मनोभ्रम ध्वस्त पार्न हामी सडकमा उत्रिएका हौँ।"

यसअघि गत बुधबार मात्रै विप्लवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी १३ बुँदे मागपत्र बुझाएका थिए। जसमा वर्तमान सरकारको खारेजी, संविधान संशोधन, र भ्रष्टाचारमा संलग्नहरूमाथि उच्चस्तरीय नागरिक आयोगमार्फत छानबिन हुनुपर्ने जस्ता बुँदाहरू समेटिएका छन्। उनले आफ्ना मागहरू पूरा गर्न १० दिनको समयसीमा (अल्टिमेटम) दिएका थिए, जसको सुनुवाइ नभएपछि शुक्रबारदेखि सडक आन्दोलन सुरु गरिएको हो।

राजधानीका विभिन्न स्थानमा भएको नाराबाजीका क्रममा माओवादी नेताहरूले यो आन्दोलन केवल सुरुवात मात्र भएको र माग पूरा नभएसम्म निरन्तर जारी रहने चेतावनी दिएका छन्। उनीहरूले निर्वाचन अघि नै राजनीतिक निकासका लागि सर्वपक्षीय सरकार अनिवार्य रहेको तर्क अघि सारेका छन्।

विप्लव माओवादीले पहिलो पटक संसदीय चुनावमा भाग लिने भन्दै निर्वाचन आयोगमा दल दर्ता गरेको छ । यसअघि नेकपाले संसदीय प्रक्रियाकै विरोध गर्दै आएको थियो । 

सर्वपक्षीय अन्तरिम सरकार गठनको माग गरेर विप्लवले चुनाव नहुँदै सत्तामा जाने आकांक्षा राखेको बुझिन्छ । केही दिनदेखि उनले सत्ता नेतृत्व गर्ने चाहना रहेको सन्देश दिइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ