सञ्चारमन्त्रीसँगको भेटमा प्रचण्डले गरे चुनावको तयारी तीव्र पार्न आग्रह
निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ: प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
2.1k
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन्। शुक्रबार हात्तिवनस्थित आफ्नै निवासमा पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उनले फागुन २१ गते जसरी पनि निर्वाचन हुनुपर्नेमा जोड दिएका हुन्।
सरकारलाई पूर्ण सहयोगको प्रतिबद्धता भेटका क्रममा दाहालले निर्वाचन सम्पन्न गराउन आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सञ्चारमन्त्री खरेलका अनुसार दाहालले निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्रता दिन सरकारलाई आग्रह गर्दै आफ्नो पार्टीको स्पष्ट धारणा दोहोर्याएका हुन्।
"दाहालले नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचनको विकल्प नभएकाले जसरी पनि जानुपर्छ र फागुन २१ मै हुनुपर्छ भन्नुभएको छ," मन्त्री खरेलले भने, "निर्वाचनका लागि सरकारलाई आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।"
शीर्ष नेताहरूसँगको संवाद तीव्र सरकारले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन 'राजनीतिक संवाद समिति' मार्फत प्रमुख दलका शीर्ष नेताहरूसँगको भेटवार्तालाई निरन्तरता दिएको छ। यसै सिलसिलामा शनिबार प्रधानमन्त्री सुशीला कार्कीले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालसँग संयुक्त वा छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
अन्तरिम सरकारले निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूबीचको सहमति र सुरक्षाको सुनिश्चितताका लागि कूटनीतिक र राजनीतिक सक्रियता बढाएको हो।