कांग्रेसको नियमित महाधिवेशन सार्न खोजेपछि विशेष महाधिवेशनका गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
2.3k
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्तासमेत रहेका तिवारीले आइतबार प्रेस नोट जारी गर्दै तोकिएको अवधिमा नियमित महाधिवेशन हुने कुनै संकेत नदेखिएको भन्दै पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले भदौ २३ र २४ को उथलपुथलपछि बसेको नेपाली कांग्रेसको ४९ दिन लामो केन्द्रीय कार्यसमिति बैठकले पुस २६–२८, २०८२ का लागि केन्द्रीय महाधिवेशनको मिति तय गरे पनि पुस ११ सम्म आइपुग्दा नियमित महाधिवेशन हुने कुनै गुञ्जायस नरहेको दाबी गरेका छन् ।
पार्टी प्रवक्ताले नै तोकिएको अवधिमा नियमित अधिवेशन हुन नसक्ने संकेत दिएको उल्लेख गर्दै तिवारीले यसलाई पार्टीभित्र परिवर्तनको माग गरिरहेका बहुसंख्यक महाधिवेशन प्रतिनिधिमाथिको अपमानको संज्ञा दिएका छन् ।
प्रेस नोटमा तिवारीले पार्टीको अकर्मण्य प्रवृत्तिले विशेष महाधिवेशनको आवाज दबाउने प्रयास भएको आरोप लगाएका छन् ।
"नियमित अधिवेशनको कार्यतालिका विशेष महाधिवेशनको मागलाई कमजोर बनाउन रचिएको छलछामभन्दा बढी केही रहेन,” उनले उल्लेख गरेका छन् । ‘रकेट गति’मा हुने भनिएको महाधिवेशन कार्यतालिकामा विश्वास गर्नु कार्यकर्ताहरूको ठूलो भूल भएको उनको टिप्पणी छ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर गरिसकेका कार्यकर्ताहरू अब मौन बस्न नसक्ने बताउँदै तिवारीले केन्द्रीय कार्यालय घेर्न काठमाडौं आउन आह्वान गरेका छन् ।