७५ खर्ब नाघ्यो कुल निक्षेप: ब्याजदर स्थिर राख्न केन्द्रीय बैंकले फेरि चलायो निक्षेप सङ्कलन औजार
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
678
Shares
काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज बुधबार फेरि २५ अर्ब रुपैयाँ निक्षेप खिच्न लागेको छ। १६ दिनका लागि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले यो रकम प्रशोचन गर्न लागेको हो। हाल वित्तीय प्रणालीमा कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको सन्दर्भमा केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत निरन्तर तरलता खिच्दै आएको छ।
यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेको ब्याजदरका आधारमा सबैभन्दा कम दर बोल गर्नेलाई प्राथमिकता दिई आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ। निक्षेपको मात्रा चुलिएपछि आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गरिँदै छ र यसको ब्याजदर पनि बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ। आज बोलकबोल हुने यस निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८२ पुस २५ गते हुने जानकारी राष्ट्र बैंकले दिएको छ।
इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सक्नेछन्। केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही कानुनी प्रावधानलाई टेकेर केन्द्रीय बैंकले पछिल्लो समय पटक-पटक निक्षेप सङ्कलन उपकरणको प्रयोग गर्दै आएको छ।