काँकरभिट्टा नाकाबाट पाँच महिनामा पौने आठ अर्बको इन्धन भित्रियो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
734
Shares
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा भएर नेपाल भित्रिने पेट्रोलियम पदार्थको आयातमा वृद्धि देखिएको छ। मेची भन्सार कार्यालयले सार्वजनिक गरेको मङ्सिर मसान्तसम्मको तथ्याङ्क अनुसार यस अवधिमा कुल ७ अर्ब ८४ करोड ४० लाख २३ हजार रुपैयाँ बराबरको विभिन्न पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वीनाकाबाट मुख्य गरी पेट्रोल, डिजेल, एलपी ग्यास, हवाई इन्धन र मट्टितेल भित्रिने गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थको आयात ३.१० प्रतिशत अर्थात् २३ करोड ५२ लाख ७० हजार रुपैयाँले बढेको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले बताए। आयातमा भएको यस वृद्धिसँगै पेट्रोलियम पदार्थबाट प्राप्त हुने राजस्वमा समेत २.५० प्रतिशतको सुधार आएको छ। तथ्याङ्क अनुसार गत वर्षको तुलनामा राजस्वमा ९ करोड ४२ लाख ९५ हजार रुपैयाँले वृद्धि भई पाँच महिनाको कुल राजस्व सङ्कलन ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ पुगेको छ।
विवरण अनुसार आयातित इन्धनमध्ये सबैभन्दा ठुलो हिस्सा पेट्रोलले ओगटेको छ। पाँच महिनामा ३ अर्ब ८२ करोड ७० लाख रुपैयाँ बराबरको ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको छ भने २ अर्ब ५३ करोड १६ लाख रुपैयाँको २६ हजार १२० किलोलिटर डिजेल भित्रिएको छ। यसै गरी खाना पकाउने एलपी ग्यास १ अर्ब १ करोड ६० लाख रुपैयाँ बराबरको १० हजार ४८० मेट्रिक टन आयात भएको छ। हवाई इन्धन ३२ करोड ८२ लाख रुपैयाँको र मट्टितेल ६ करोड ३१ लाख रुपैयाँको आयात भएको कार्यालयले जनाएको छ।