दश महिनामा एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
६७ अर्ब नाघ्यो राजस्व सङ्कलन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
688
Shares
काठमाडौँ । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य बराबरको छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यका आधारमा यस नाकाबाट हुने आयातमा रू २५ अर्ब ५३ करोड अर्थात् १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो।
गत आवको यसै अवधिमा रू १ खर्ब ५६ अर्ब १७ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थ भित्रिएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातबाट मात्रै रू ६७ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ।
यस अवधिमा इन्धन विधाअनुसार डिजेलको आयात सबैभन्दा उच्च रहेको छ। चालु आवको १० महिनामा रू १ खर्ब ५७ करोड मूल्य पर्ने ८ लाख ९५ हजार २ सय ४६ किलोलिटर डिजेल आयात भएको छ। जबकी गत आवको सोही अवधिमा भने रू ७९ अर्ब ५७ करोड मूल्य पर्ने ९ लाख ८ सय ५७ किलोलिटर डिजेल आयात भएको थियो।
त्यसैगरी पेट्रोल र एलपिजी ग्यासको आयातमा पनि उतारचढाव देखिएको छ। चालु आवको १० महिनामा रू ३५ अर्ब ७९ करोड मूल्य बराबरको ३ लाख ९० हजार ६ सय १५ किलोलिटर पेट्रोल आयात भएको छ। गत आवको १० महिनामा रू ३१ अर्ब ७१ करोड मूल्य पर्ने ३ लाख ६७ हजार ३ सय ४४ किलोलिटर पेट्रोल भित्रिएको थियो।
यता एलपिजी ग्यासतर्फ भने चालु आवको १० महिनामा रू २५ अर्ब ५४ करोड मूल्य पर्ने २४ करोड २७ लाख ३ हजार १ सय ५० किलोग्राम ग्यास आयात भएको छ। जबकी गत आवको सोही अवधिमा रू ३० अर्ब २८ करोड मूल्य पर्ने २६ करोड ४१ लाख १४ हजार ३ सय २६ किलोग्राम ग्यास आयात भएको देखिन्छ।