arrow

दण्डहीनता रोक्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेलोस्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
prakashman-sing-raut-08-09.jpg

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालतबाट जारी भएका फैसलाको कार्यान्वयन अभावबाट उत्पन्न हुने दण्डहीनताको अवस्थालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले अझ प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले फौजदारी मुद्दामा ठहर भएका कैद र जरीवानाको लगत बढ्दै जानु र असुलीमा प्रभावकारिता नहुनु गम्भीर चुनौतीको विषय रहेको भन्दै यस्तो अवस्थालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले भने, ‘न्यायको सार केवल फैसला वा आदेशमा सीमित हुँदैन । त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र न्यायको अनुभूति हुन्छ । फौजदारी मुद्दामा ठहर भएका कैद र जरिवानाको लगत बढ्दै जानु र असुलीमा प्रभावकारिता नहुनु गम्भीर चुनौतीको विषय हो । अदालतबाट जारी भएका फैसलाको कार्यान्वयनको अभावबाट उत्पन्न हुने दण्डहीनताको अवस्थालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले अझ प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक देखिन्छ ।’

उनले महान्यायाधिवक्ता नेपाल सरकारको प्रमुख कानूनी सल्लाहकारसमेत भएको भन्दै यसकारण महान्यायाधिवक्ताले सरकारबाट सम्पादन हुने कार्य एव‌ं लिने नीतिगत निर्णय तथा प्रशासनिक काम कारबाही विधि र प्रक्रियासम्मत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले भने, ‘महान्यायाधिवक्ता नेपाल सरकारको प्रमुख कानूनी सल्लाहकारसमेत भएका कारण सरकारबाट सम्पादन हुने कार्य एंव लिने नीतिगत निर्णय तथा प्रशासनिक काम कारबाही विधि र प्रक्रियासम्मत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । अदालतबाट भएको फैसला एवं प्रतिपादित कानूनी सिद्धान्तको पूर्ण पालना गराउने जिम्मेवारीमा समेत महान्यायाधिवक्ता कार्यालयले समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने देखिन्छ ।’

महान्यायाधिवक्ता कार्यालयले पछिल्ला वर्षमा संस्थागत सुदृढीकरण, सरकारी वकीलहरूको भौतिक पूर्वाधार सुधार विशिष्टकृत तालिम नीतिगत तथा कार्य विधिगत सुधार र जनशक्तिको क्षमता अभिवृद्धि क्षेत्रमा उल्लेख्य पहल गरेको पनि उनको भनाइ छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले कानूनी शासन र मानव अधिकार रक्षाको अभिभारा महान्यायाधिवक्तामा निहीत रहेको सन्दर्भमा महान्यायाधिवक्ता कार्यालयको भूमिका अझै महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘सरकारको हक हित र सरोकारनिहित रहेको मुद्दामा सरकारको प्रतिनिधित्व गर्ने, सरकारका तर्फबाट दायर भएको मुद्दा फिर्ता लिंदा सरकारलाई राय दिने, सरकारवादी वा प्रतिवादी भई दायर भएका मुद्दामा नेपाल सरकारको तर्फबाट प्रतिरक्षा गर्ने जस्ता कानूनी शासन र मानव अधिकार रक्षाको अभिभारा समेत महान्यायाधिवक्तामा निहित रहेको सन्दर्भमा महान्यायाधिवक्ता कार्यालयको भूमिका अझै महत्वपूर्ण छ ।’

अभियोजनलाई वस्तुनिष्ट र वास्तविकतामा आधारित बनाई सरकारवादी मुद्दाहरूको सफलताको दरलाई वृद्धि गर्न आवश्यक रहेको भन्दै यसका लागि सरकारी वकीलको क्षमता वृद्धि गर्नु अति आवश्यक देखिएको पनि उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ