२६औँ साधारण सभा माघ १५ देखि, नयाँ नेतृत्वका लागि निर्वाचन हुने
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
648
Shares
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्व चयनका लागि २६औँ वार्षिक साधारण सभा तथा निर्वाचन आगामी माघमा हुने भएको छ। महासङ्घका महासचिव रोशन दाहालका अनुसार माघ १५, १६ र १७ गते काठमाडौँमा साधारण सभा तथा चुनावी प्रक्रिया सञ्चालन गरिनेछ।
यस पटकको साधारण सभामा सातै प्रदेशका महासङ्घ, जिल्ला सङ्घहरू, एशोसिएट सदस्यहरू तथा वस्तुगत सङ्घका प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासङ्घले तय गरेको मापदण्डअनुसार प्रत्येक प्रदेश महासङ्घबाट अध्यक्षसहित १५ जना प्रतिनिधि रहनेछन्। जिल्ला सङ्घको हकमा ५० जनासम्म सदस्य भएका जिल्लाले ३ जना र सोभन्दा बढी सदस्य भएका जिल्लाले छानबिन समितिले यकिन गरेबमोजिम प्रत्येक ५० सदस्यमा थप एक जना प्रतिनिधि पठाउन पाउनेछन्। पाँच जनाभन्दा बढी प्रतिनिधि पठाउने जिल्लाले एक जना महिला अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, एशोसिएट सदस्यहरूबाट समन्वय समितिका संयोजकसहित ३९ जना र प्रत्येक वस्तुगत सङ्घबाट एक-एक जना साधारण सभा प्रतिनिधि हुनेछन्। महासङ्घले प्रतिनिधिहरूको नामावली आगामी पुस २९ गतेभित्र केन्द्रीय कार्यालयमा पठाइसक्न मातहतका सबै सङ्घ र समितिहरूलाई आग्रह गरेको छ। यस साधारण सभाले महासङ्घको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ।