गभर्नर पौडेलले गरे उत्पादनशील क्षेत्रमा लगानी बढाउन आह्वान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
735
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यवसायीहरूलाई वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका साथ अघि बढ्न आह्वान गरेका छन् ।
बिहीबार गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा गभर्नर पौडेलले गभर्नर पौडेलले विगतका कठिन समयको स्मरण गराउँदै निजी क्षेत्रले धेरै आरोह-अवरोह पार गरेर यहाँसम्म आइपुगेको बताए । उनले अबको समयमा पनि अघि बढ्न साहस गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार मनोबललाई स्थिर बनाइराख्ने केही आधार छन् । जसमा आवधिक र स्वच्छ निर्वाचन प्रमुख हो ।
कम स्रोत भएका व्यक्तिहरूले पनि स्वतन्त्र रूपमा उठेर चुनाव जित्न सक्नु लोकतन्त्रको सकारात्मक पक्ष भएको उनले उल्लेख गरे ।
परम्परागत दल बाहिरबाट पनि हरेक निर्वाचनमा प्रतिनिधि निर्वाचित हुनु देश अघि बढिरहेको संकेत भएको गभर्नर पौडेलको भनाइ छ ।
गभर्नर पौडेलले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आह्वान समेत गरे ।
उर्जा र यातायातजस्ता पूर्वाधार क्षेत्रमा ठूलो खर्च गर्न आँट गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पारे ।
गभर्नर पौडेलले बोण्ड जारी गर्ने विषयमा पनि निजी क्षेत्रसँग निरन्तर छलफल र नेगोसेसन भइरहेको जानकारी दिए ।
उर्जा क्षेत्रमा उत्पादन, प्रसारण र वितरणमा थप लगानीको आवश्यकता औँल्याउँदै यातायात पूर्वाधारमा पनि ठूलो लगानी गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए । यसका लागि नेपाल राष्ट्र बैंकले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिवद्धता उनले जनाए ।
गभर्नर पौडेलले भने, ‘ठूलो खर्च गर्न आँट गरोस, बैंकिङ क्षेत्रबाट हामीले गर्नुपर्ने सहयोग गर्न तयार छौँ । बोण्डहरू जारी गर्ने बारेमा पनि हाम्रो नेगोसेसन भएको थियो । उर्जा, यातायात जस्ता क्षेत्रमा राम्रो खर्च गर्न कोसिस गरौँ । उर्जा, यातायातमा धेरै सम्भावना छ, यो भन्दा धेरै राम्रो बनाउन सकिन्छ । सम्भावनाको केही प्रतिशत पनि हामीले प्रयोग गरेको देखिँदैन । यातायतमा पनि ठूलो लगानी गर्न आँट गरौँ । राष्ट्र बैंकबाट पनि सहजिकरण गछौँ । म व्यवसायी साथीहरूलाई भन्न चाहन्छु उच्च मनोबल लिएर काम गर्नुहोस्, यो भन्दा प्रतिकूल परिस्थीतिमा मान्छेहरूले मेहनत गरेका छन् । सबै देशहरू विपन्न हुँदा धेरै कारणहरू हुन्छ । हामी अप्ठ्यारो सोचेर बस्नुपर्ने केही कारण छैन । हामी धेरै प्रकारका आरोहअवरोह पार गरेर यहाँ आइपुगेका छौँ । २० वर्ष अघि हाम्रो देशमा आन्तरीक द्वन्द थियो । राजदरबार हत्यकाण्ड भएका थियो । यतिधेरै भुइँचालाहरू आए । धेरै प्रकारका आरोह अवरोहरू भएको भयै छन् । त्यही पनि दुई÷चार ओटा कुराहरू छन्, हामीलाई स्टेबल बनाइरहेको छ । त्योमध्ये एक हाम्रो आवधिक निर्वाचनहरू हुन् । निर्वाचनहरू स्वच्छ भइरहेको छ भन्नेमा हामी सबैले विश्वास गर्दै आएका छौँ । कम पैसा भएकाहरू पनि स्वतन्त्र रुपमा उठेर चुनाव जितिरहेका छन् । हरेक निर्वाचनमा परम्परागत पार्टी बाहिरबाट पनि चुनाव जितेका छन् । यो चिजहरूले हामीलाई अघि बढ्न पनि सघाउ पुर्याइरहेको छ ।’
गभर्नर पौडेलले सकारात्मक आधारलाई आत्मविश्वासका साथ उपयोग गर्दै निजी क्षेत्रले लगानी बढाए अर्थतन्त्र थप गतिशील बन्ने विश्वास व्यक्त गरे ।