arrow

आर्थिक वृद्धि बढ्दै जाँदा समाजमा असन्तुष्टि र अस्थिरता बढ्छ: गभर्नर पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
bishwanath-poudel-governor-.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढ्दै जाँदा समाजमा असन्तुष्टि र अस्थिरता बढ्ने गरेको बताएका छन्। क्लिकमाण्डुद्वारा आयोजित ‘जेन–जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले फ्रान्स र चीन जस्ता देशहरूको क्रान्तिलाई उदाहरणका रूपमा प्रस्तुत गरे। 

आर्थिक वृद्धिको प्रारम्भिक चरणमा केही हदसम्म स्थायित्व देखिए पनि वृद्धि बढ्दै जाँदा अवसरहरूको असमान वितरणले मानिसहरूमा विद्रोहको भावना जन्माउने उनको विश्लेषण छ। नेपालमा पनि उदारीकरणको नीतिले गर्दा केही व्यक्तिहरू धनी भइरहेको तर यस प्रक्रियालाई सर्वसाधारणलाई बुझाउन नसक्दा समस्या उत्पन्न भएको उनले उल्लेख गरे।

गभर्नर पौडेलका अनुसार नेपालमा सम्पत्ति कमाउने आधार नवप्रवर्तन (इन्नोभेसन) भन्दा पनि लाइसेन्स र आयातमा बढी केन्द्रित छ। जसले गर्दा समाजमा "उसले कसरी लाइसेन्स पायो र मैले किन पाइनँ" भन्ने खालको ईर्ष्या र असन्तुष्टि पैदा हुने गरेको उनले बताए। नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा सीमित व्यक्तिहरूको हातमा अवसरहरू केन्द्रित हुँदा त्यसले अस्वाभाविक र अन्यायपूर्ण सन्देश दिने उनको भनाइ छ। आर्थिक उदारीकरणले ल्याएका अवसरहरू सबैका लागि खुला र पारदर्शी नहुँदा त्यसले सामाजिक विद्रोहको जोखिम बढाउने उनले चेतावनी दिए।

नेपालको आर्थिक उदारीकरण प्रक्रिया र यसले निम्त्याउने सामाजिक प्रभावका बारेमा सचेत हुन जरुरी रहेकोमा गभर्नरले जोड दिएका छन्। उनले आर्थिक वृद्धिलाई केवल अंकमा मात्र सीमित नराखी यसलाई समावेशी बनाउन र अवसरहरूको न्यायोचित वितरण सुनिश्चित गर्न आवश्यक रहेको सङ्केत गरे। अवसरहरूमा सबैको पहुँच पुग्ने वातावरण निर्माण गर्न सके मात्र समाजमा बढ्दै गएको विद्रोह र अस्थिरताको जोखिम कम गर्न सकिने उनको ठम्याइ छ। दिगो विकासका लागि आर्थिक वृद्धि मात्र पर्याप्त नभई त्यसले दिने प्रतिफलको बाँडफाँट पनि उत्तिकै महत्वपूर्ण हुने उनले स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ