arrow

आर्थिक वृद्धिदर बढ्दै जाँदा असन्तुष्टि र अस्थिरता बढ्ने जोखिम हुन्छ : गभर्नर पौडेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
bishwonath-poudel-03-09.jpg
फाइल तस्बिर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढ्दै जाँदा समाजमा असन्तुष्टि र अस्थिरता बढ्ने जोखिम देखिने बताएका छन् ।

क्लिकमाण्डुद्वारा आयोजित ‘जेन-जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले फ्रान्स र चीनमा भएका क्रान्ति तथा विद्रोहको उदाहरण दिँदै आर्थिक वृद्धिको प्रारम्भिक चरणमा स्थायित्व बढे पनि वृद्धि तीव्र हुँदै जाँदा अवसरहरूको असमान वितरणले असन्तुष्टि जन्माउने बताएका छन् ।

उनका अनुसार नेपालमा लागू गरिएको आर्थिक उदारीकरण नीतिका कारण केही व्यक्ति धनी बन्दै गइरहेका छन्, तर यस प्रक्रियालाई स्पष्ट र प्रभावकारी रूपमा व्याख्या गर्न नसक्दा सामाजिक असन्तोष देखिन थालेको छ ।

विशेषगरी नेपाल जस्तो देशमा नवप्रवर्तन (इन्नोभेसन) आधारित सम्पत्ति सिर्जनाभन्दा लाइसेन्स र आयातमा आधारित माध्यमबाट धनी बन्ने प्रवृत्तिले अस्वाभाविक अवस्था सिर्जना गरेको उनको भनाइ छ ।

गभर्नर पौडेलले आर्थिक वृद्धिदर सुरु हुनासाथ विभिन्न देशमा अस्थिरता देखिने अध्ययनहरूले पनि पुष्टि गरेको बताए।

आर्थिक वृद्धि बढ्दै जाँदा ‘मैले अवसर पाइन, अरूले पाए’ भन्ने भावना बढ्ने र त्यसैबाट विद्रोह तथा असन्तोष जन्मिने उनको विश्लेषण छ । फ्रान्स र चीनका ऐतिहासिक क्रान्तिहरूमा पनि यही प्रवृत्ति देखिएको उनले उल्लेख गरेका छन् ।

नेपालमा आयातमुखी अर्थतन्त्र र लाइसेन्समा आधारित सम्पत्ति कमाउने प्रणालीका कारण धेरै नागरिकमा ‘लाइसेन्स कसरी पाइयो, मैले किन पाइन’ भन्ने प्रश्न उठ्ने अवस्था रहेको उनले बताएका छन् । यही कारण आर्थिक उदारीकरणको लाभ सीमित समूहमा केन्द्रित भएको अनुभूति समाजमा फैलिएको उनको धारणा छ ।

गभर्नर पौडेलले नेपालको आर्थिक उदारीकरण प्रक्रियाबाट उत्पन्न सामाजिक प्रभावप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याएका छन् ।

आर्थिक वृद्धिलाई समावेशी बनाउँदै अवसरहरूको न्यायोचित वितरण सुनिश्चित गर्न सकेमा समाजमा विद्रोह र अस्थिरताको जोखिम कम गर्न सकिने उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ