arrow

निराश नहुन व्यवसायीलाई गभर्नर पौडेलको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
biswa-poudel-09-.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाबाट विचलित नहुन निजी क्षेत्रलाई आग्रह गरेका छन्। बिहीबार गोरखापत्र संस्थानद्वारा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले उद्योगी तथा व्यवसायीहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न र उत्पादनशील क्षेत्रमा लगानी बढाउन आह्वान गरे।

निजी क्षेत्रले विगतमा धेरै आरोह-अवरोह र कठिन समयहरू पार गर्दै यहाँसम्मको यात्रा तय गरेको स्मरण गराउँदै उनले अबका चुनौतीहरूलाई पनि साहसका साथ सामना गर्नुपर्ने बताए। मुलुकको मनोबल स्थिर राख्ने प्रमुख आधारका रूपमा उनले आवधिक र स्वच्छ निर्वाचनलाई औँल्याए। कम आर्थिक स्रोत भएका व्यक्तिहरूले पनि स्वतन्त्र रूपमा चुनाव जित्नु र परम्परागत दल बाहिरबाट नयाँ प्रतिनिधि निर्वाचित हुनु लोकतन्त्रको सकारात्मक पक्ष र देश अघि बढिरहेको बलियो सङ्केत भएको उनको भनाइ थियो।

गभर्नर पौडेलले ऊर्जा र यातायातजस्ता पूर्वाधारका क्षेत्रमा ठूलो लगानी गर्न निजी क्षेत्रले आँट गर्नुपर्ने बेला आएको बताए। "तपाईँहरू ठूलो खर्च गर्न आँट गर्नुहोस्, बैंकिङ क्षेत्रबाट हामीले गर्नुपर्ने नीतिगत तथा प्रक्रियागत सहयोगका लागि राष्ट्र बैंक तयार छ," उनले प्रतिबद्धता जनाए। ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरणका साथै यातायात पूर्वाधारमा लगानीको प्रचुर सम्भावना रहेको र ती सम्भावनाको अझै थोरै हिस्सा मात्रै उपयोग भएको उनले उल्लेख गरे।

आफ्नो सम्बोधनका क्रममा गभर्नरले २० वर्षअघिको आन्तरिक द्वन्द्व, राजदरबार हत्याकाण्ड र विनाशकारी भूकम्प जस्ता प्रतिकूल समयमा पनि नेपालीहरूले मेहनत गरेर अर्थतन्त्र टिकाएको उदाहरण दिए। अहिले प्रतिकूल परिस्थिति सोचेर बस्नुपर्ने कुनै कारण नरहेको भन्दै उनले बोण्ड (ऋणपत्र) जारी गर्ने विषयमा पनि निजी क्षेत्रसँग निरन्तर छलफल र परामर्श भइरहेको जानकारी दिए। सकारात्मक आधारहरूलाई आत्मविश्वासका साथ उपयोग गरे अर्थतन्त्र थप गतिशील बन्ने विश्वास उनले व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ