बागलुङ। गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पुर्याउने अभियानअन्तर्गत बागलुङको ताराखोला गाउँपालिका-५ का पाँच सय ३८ घरमा खानेपानीको धारा जडान गरिएका छन् ।
हालसम्म वडामा रहेका पाँच सय ९५ घरमध्ये पाँच सय ३८ घरमा खानेपानीको धारा जडान सम्पन्न भइसकेको छ । घरघरमा खानेपानी आएपछि स्थानीय दङ्ग छन् ।
गण्डकी प्रदेश सरकारको रु दुई करोड लागतमा १८ ओटा मुहानको पानी घरघरमा पुर्याएको हो ।
वडाध्यक्ष मनबहादुर रोकाले वडाको अब वडा क्षेत्रका २२ घरमा मात्रै पानी पुर्याउन बाँकी रहेको बताए ।
“विकासको पहिलो आधार शुद्ध खानेपानी हो, वडाभर खानेपानी पुर्याउने लक्ष्य पूरा हुँदैछ, वडाका पाँच सय ३८ घरमा निजी धारा जडान गरिएका छन्”, उनले भने, “सबै घरमा खानेपानी पुर्याउनु हाम्रा लागि सुखद् कुरा हो, गण्डकी प्रदेश सरकारको लगानीमा १८ मुहानलाई एकीकृत प्रणालीबाट एक घर-एक धारा निर्माण गरिएको हो ।”
रोकाका अनुसार वडा नं ५ को करिमेला, धस्मर, रानीवास, तातामाटा, छेल्लर खोला, नाङ्गी, औलादी, सानो हिले, ठूलो हिले, सिप, फेदी, पलीम, फुडेखर्क, मच्छर, भिरकुना र अर्गातुङ गाउँका घरमा धारा जडान गरिएका छन् । खानेपानीको पहुँच पुगेपछि यहाँका स्थानीयको दैनिकी फेरिएको छ भने समयको बचतसमेत भएको छ । खानेपानीको धारा घरमै आएपछि सरसफाइमा समेत सुधार भइरहेको छ ।
विसं २०७५ बाट शुरू भएको एक घर-एक धारा अभियानले सार्थकता पाएकामा स्थानीय खुसी छन् । स्थानीय कुलबहादुर रोकाले घरमै खानेपानीको धारा भएपछि पानीकै लागि टाढा रहेका सामुदायिक धारा, कुँवालगायत स्थानमा जाने बाध्यता अन्त्य भएको बताए । रासस