एमालेमा फेरि ओली हावी, पदाधिकारीमा अधिकांश पदमा ओली पक्ष नै अगाडि
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
2.6k
Shares
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना कार्य औपचारिक रूपमा शुरु भएको छ। शुरुआती चरणमै अध्यक्षमा केपी शर्मा ओली नै अगाडि देखिएका छन् । ईश्वर पोखरेलभन्दा ओलीले तेब्बर मत ल्याएका छन् ।
त्यस्तै महासचिवमा पनि ओली पक्षीय शंकर पोखरेल नै अगाडि छन् । सुरेन्द्र पाण्डे पछि छन् । अन्य पदाधिकारीमा पनि ओली पक्षीय उम्मेदवार नै अगाडि देखिएका छन् । केही पदमा भने ईश्वर पोखरेल पक्षीय नेताहरु अगाडि छन् ।
विद्युतीय भोटिङ मेसिन बाट चिप्स संकलन गर्ने प्राविधिक कार्य सम्पन्न भएपछि निर्वाचन आयोगले मतदानको मुचुल्का उठाएर र प्रतिनिधिहरूको सहमति लिएर गणना प्रक्रिया अगाडि बढाएको हो।
बिहीबार बिहान करिब ७ बजे मतदानको सम्पूर्ण प्रक्रिया सकिएको थियो। निर्वाचन आयोगका अनुसार विद्युतीय मेसिनको प्रयोग भएकाले मतगणना शुरु भएको करिब तीन घण्टाभित्रै सबै पदको अन्तिम नतिजा आइसक्ने सम्भावना छ। यस महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा २ हजार २ सय २७ जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेका छन् भने बाँकी ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित रहेका थिए ।
यस निर्वाचनबाट अध्यक्ष, महासचिवसहित १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटीको फैसला हुनेछ। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीचको मुख्य प्रतिस्पर्धालाई लिएर अहिले महाधिवेशन स्थल भृकुटीमण्डप र देशभरका कार्यकर्ताहरूमा निकै उत्सुकता छाएको छ।
ओली पक्ष नै हावी भएपछि एमालेको लय पूर्ववत् तरिकाले नै चल्ने अनुमान गरिएको छ ।