arrow

कठ्याङ्ग्रिदै मत हाल्दै

कछुवा गतिमा एमालेको मतदानः रातभर मतदान गर्दा पनि बिहीबार बिहानमात्रै सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
uml-11th-general-ass-82-9-2 (3).jpg

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि चलिरहेको मतदान कुछवा गतिमा भइरहेको छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा भइरहेको मतदानमा आठ घण्टामा जम्मा आठ सय मत खसेको छ । यो गति हेर्दा रातभर मतदान हुँदा पनि बिहीबार बिहानैसम्म चल्नेछ । 

बिहान ९ः१२ बजेदेखि शुरु भएको मतदानमा साँझ ५ बजेसम्म ८०२ मतमात्र खसेको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । 

उनले मतदानमा मतदाताले ढिलोमा दुई घण्टा पाँच मिनेट र छिटोमा नौ मिनेटससम्म समय लगाएर मतदान गरेको बताए । उनका अनुसार मतदान गर्नका लागि सरदर एक जना मतदातालाई २५ देखि ३० मिनेट लाग्ने गरेको छ । 

उनले राति ८ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताए । अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ ।

एमालेमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्रतिस्पर्धामा छन् । 

एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिवब६४२ जनाको उम्मेदवारी परेको छ । मतदानमा ८० वटा विद्युतीय भोटिङ् मेसिन प्रयोगमा ल्याइएको  छ । 

आयोगका उपाध्यक्ष पोखरेलका अनुसार मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुनेछ । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।

आठ घण्टामा ८ सयले मत खसालेको अनुपातमा दुई हजार २६३ मतदाताका लागि कम्तीमा २० घण्टा लाग्छ । त्यो भनेको बिहीबार बिहान ५ बजेसम्मको समय हो ।  

पुसको चिसोमा भृकुटीमण्डपको खुला ठाउँमा लाइनमा बस्नुपर्दा भने मतदाता ठूलो मारमा पर्ने निश्चित छ । मतदाताले कठ्याङ्ग्रिदै मत हाल्दै गर्नुपर्ने बाध्यता छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ