काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा मतदान समयमा हुन नसक्दा धेरै कुरा प्रभावित भएको छ । भृकुटीमण्डपको केन्द्रमा महाधिवेशन चलिरहँदा भृकुटीमण्डप क्षेत्र पूरै प्रभावित भएको छ ।
महाधिवेशनमा मंगलबार मतदान हुने भनिए पनि पटक पटक समय थपेर बुधबार बिहान ८ बजेदेखिलाई सारिएको छ । मतदानका लागि लाइनमा बसेको लामो समयपछि मतदान अर्को दिनलाई सारिएपछि प्रितिनिधिहरूले आक्रोश पोखेका छन् । यसरी मतदान सारिँदा धेरैलाई मर्का परेको छ ।
पुतलीसडक पद्मोदय मोडदेखि राष्ट्रिय सभागृहसम्मको पूरै सडकमा सवारी आवतजावत ठप्प छ । त्यतिमात्र होइन त्यो स्थानमा पर्ने बाल्मिकी, आरआर, नेपाल ल र विश्वभाषा क्याम्पसको पठनपाठन नै प्रभावित भएको छ ।
महाधिवेशन प्रतिनिधिहरुको बसाई लम्बिएको छ भने आफ्नो निर्धारित तालिकालाई नै प्रभावित पारेपछि केहीले असन्तुष्टि नै व्यक्त गरेका छन् ।
मंगलबार पटक पटक समय फेरिएको छ । अनि फेरिएको समयसमेत प्रभावित हुँदा चिन्ता थपिएको छ । त्यसै त अहिले काठमाडौँमा जाडो दिनानुदिन बढ्दै गएको छ त्यसमाथि समय थपिँदा कतिपय महाधिवेशन प्रतिनिधिको निद्रा हराम भएको छ ।
अध्यक्ष पदका लागि तेस्रो पटक अध्यक्ष बन्न केपी शर्मा ओली लागिपरेका छन् । त्यस्तै उनलाई ईश्वर पोखरेलले टक्कर दिएका छन् । ईश्वरको टिमले जित्यो भने सबै पदमा परिवर्तन हुने देखिन्छ भने ओलीले जित्दा उनीजस्तै गरी अन्य पदाधिकारीका पद दोहोरिने छन् ।