arrow

एमाले महाधिवेशन

आराम गर्नुपर्ने ओली तेहेरिन खोज्दा अरुलाई बेवास्ता, धमाधम विद्रोह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
kp-sharma-oli-82-8-29.jpg

काठमाडौँ । नेकपा एमालेले जब ७० वर्ष नाघेपछि स्वतः सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने नीति लियो त्यसले अन्य दललाईसमेत खुवै दबाब दिएको थियो । कांग्रेसमा बूढाखाडा नेताहरू कुर्सी हडप्न तँछाडमछाड गरिरहँदा उनीहरू ङिच्च बाहेक केही गरिरहेका थिएनन् । 

अहिले कांग्रेसले युवा नेताहरू अगाडि आउनुपर्छ भनी कम्मर कसिरहँदा एमालेले भने यसअघिको कांग्रेसको फेरो समातेको छ । एमाले अर्थात् केपी ओली । एमालेभित्र सबैका बा । सम्भवतः यसरी आफू नभए त एमाले टुहुरो हुन्छ भनेरै होला ओलीले पनि विधान संशोधन गरेरै भए पनि सत्तरी वर्षभन्दा बढी हुँदामात्र हैन अब त बाँचुन्जेल अध्यक्ष बन्न पाउने गरी तम्सिएका छन् । 

आफू अध्यक्षमा तेहेरिन खोज्दा अन्य नेताहरूलाई मर्का परेको छ भन्ने उनले ख्याल नै गरेनन् । आफूलाई अध्यक्ष बारम्बार बनिरहनु पर्ने तर वरिष्ठ उपाध्यक्षको पद भने केन्द्रीय कमिटी डाकेरै हटाए । 

ओलीको यस मनपरीतन्त्रलाई पहिले वाह ! भनिरहेकाहरूलाई यसपालि भने झापड भएको छ । किनकि उनीहरूलाई जहीँको तहीँ थन्काउन खोजियो । सम्भवतः त्यसकै परिणाम होला भृकुटीमण्डपमा जारी एमालेको ११ औँ चुनावी महाधिवेशन पेचिलो बनेको छ । 

ओलीलाई पटक पटक बुइ चढाएकाहरू अहिले विद्रोहतर्फ लागेका छन् । चर्को असन्तुष्टिबीच काठमाडौँको चिसो मौसम तातेको छ । 

आफू निकटका नेताहरू कसैलाई काखा कसैलाई पाखा गर्न खोजेपछि कसैले कडा विद्रोह गरेका छन् त कसैले शालिन । यसपालि महासचिव बन्छु भन्ने आशामा रहेका उपमहासचिव प्रदीप ज्ञवालीलाई उपाध्यक्षमा थन्क्याउन खोजिएपछि उनले शालिन विद्रोह गरेका छन् । उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिए । 

ओलीले महासचिवमा शंकर पोखरेललाई नै ल्याउन चाहेपछि ज्ञवाली असन्तुष्ट बनेका हुन् । उपमहासचिवले आफ्नो इच्छानुसार माथि जान नपाएपछि केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएपछि ओलीलाई ठूलो झड्का लागेको छ । शालिन व्यक्तित्व बनाइराखेका ज्ञवालीले पनि थाहा पाए होलान् गलतलाई पनि सही भन्दै ओलीको बचाउ गरिरहँदाको नतिजा के भयो भनेर ।

संसदमा ‌ओलीलाई नेपाली राजनीतिको 'माइ बाप' भनेर सम्बोधन गर्नेमात्र हैन ओली राजनीतिको पेले भएकोसमेत भनेर चाप्लुसी घस्ने कृष्णगोपाल श्रेष्ठले विद्रोह गर्दै ईश्वर पोखरेलको कित्तामा पुगेर सचिवको उम्मेदवार बनेका छन् । जबकि ओलीले केन्द्रीय सदस्यमा राखेका थिए ।

त्यतिमात्र हैन ओलीको छोरा जस्तै बनेर हिँड्ने गोकुल बास्कोटासमेत पनि ईश्वर प्यानलबाट सचिवमा उम्मेदवारी दिएका छन् । ७० करोडको भ्रष्टाचार काण्डमा मुछिएर त्यतिबेला हुँदाखाँदाको संचारमन्त्रीको पदसमेत गुमाउन पुगेका उनी त्यसपछि ओलीसँग टाढै छन् ।

त्यतिमात्र हैन अग्नि खरेल, लालबाबु पण्डित, भीम आचार्य लगायतका ओलीका सारथीहरूसमेत लाखापाखा भएका छन् । तीनै जनालाइृ केन्द्रीय सदस्यमा मात्र राखेपछि ओली प्यानलबाट छुट्टिएर उनीहरू कसैले सचिवमा त कसैले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।  

रघुजी पन्त, पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतम लगायतका नेतालेसमेत विद्रोह गरेका छन् । धेरैलाई केन्द्रीय सदस्यमा मात्र समेट्ने ओलीको यो रणानीति घातक सिद्ध भएको छ । 

कथंकदाचित यी विद्रोही अनुहारले पूर्णरूपले ईश्वरलाई साथ दिने हो भने ओलीको तेहेरिने दाउलेसमेत पानी फेर्नेछ । यदि त्यस्तो भयो भने एमालेमा आमूल परिवर्तन हुने निश्चित छ । त्यस्तो भएमा एमालेले आफूलाई फेरि क्रान्तिकारी बनाउने छ । 

कोही ओली पक्षका नेताहरू भने अझै पनि विद्रोह गर्नेलाई गाली गर्न छाडेका छैनन् । एमाले नेता सूर्य थापाले ओलीलाई छाडेर निस्कदा पोखरेल पक्षले भड्खालोमा हाल्ने बताए । संचारकर्मीहरूसँग कुरा गर्दै थापाले ‘खुट्टा उचालेर भड्खालोमा हाल्न आमन्त्रित गर्दैछन् । त्यतातिर सचेत हुनुपर्छ’ भनेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ