प्रचण्डले भने–आवश्यक परे अर्को बलिदानी गर्न पनि तयार हुनुपर्छ
जनआन्दोलनको उपलब्धि गुम्न दिन्नौँ
प्रकाशित २०७३ फागुन १ आइतबार
1.2k
Shares
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका उपब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने बताएका छन् । पेरिस डाडाँस्थित माओवादी केन्द्रको कार्यालयमा आइतबार २२औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरिएको सभामा प्रधानमन्त्री प्रचण्डले यसो भनेका हुन् ।
प्रधानमन्त्री दाहालले भने, ‘जनआन्दोलनबाट प्राप्त उपलब्धि कुनै हालतमा पनि गुम्न दिइने छैन, आवश्यक परे अर्को बलिदानी गर्न पनि तयार हुनुपर्छ ।’
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले जनआन्दोलबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्न आगामी २०७४ माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिंदै निर्वाचन हुन नसके मुलुकमा सङ्कट आइपर्ने बताए । संविधान परिमार्जन गर्न सकिने गतिशील दस्तावेज भएकाले सबैको हकअधिकार रक्षाका लागि त्यसलाई परिमार्जन सरकारले तयारी गरेको दाहालले उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले थपे, ‘माओवादीले थालेको युद्ध नै राष्ट्रलाई एकतावद्ध बनाउने एतिहासिक कदम हो, आफ्नो दलले नै मधेस, पहाड र हिमाललाई मिलाउनसक्ने स्थितिमा छ, किनकी जनयुद्धमा यी सबैको बलिदानी छ ।’ संसदमा तेस्रो पार्टी भए पनि परिर्वतनको रक्षा गर्ने, राष्ट्रलाई एकतावद्ध गर्ने र राष्ट्रिय स्वाधिनतालाई रक्षा गर्ने सन्दर्भमा अहिले पनि आफ्नो दल पहिलो नम्बरमै भएको जिकिर गरे ।
प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचनमा पार्टीले हारे पनि देश विजयी हुनुपर्छ, तर जनयुद्धको मुद्दा र परिर्वनतलाई संस्थागन गर्न पार्टी विजयी हुनु पनि आवश्यक छ ।’ जुन उद्देश्यका साथ जनयुद्धको तयारी गरेको सोही अनुरुपका क्रान्ति सफल हुँदै गएपनि पार्टी टुक्रिदै जाँदा कमजोर पनि बन्दै गएकाले अर्को जनयुद्व दिवससम्म आईपुग्दा सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट एक हुने विश्वास गरे ।
तत्कालिन माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो । अहिले वृहत शान्ति सम्झौता भएको १० वर्ष पुगिसक्दा पनि जनआन्दोलका बेपत्ता परिवारको सत्यतथ्य सार्वजनिक भएको छैन भने, पीडितले न्याय पाउन सकेका छैनन् ।