arrow

गगन थापालाई दोलखाली युवाको दृढ सन्देश - सभापति बनेर समुन्नत मुलुक निर्माणको नेतृत्व लिनुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
gagan-ajayababu-82-8-25.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई दोलखाली युवाहरूले पार्टी सभापति निर्वाचित गराउन भरोसा दिलाएका छन् । बिहीबार राजधानी काठमाडौँमा आयोजित दोलखाली युवा र महामन्त्री थापाबीच भएको एक अन्तरक्रियामा उनलाई पार्टी सभापति बनेर भ्रस्टाचारमुक्त तथा सुशासनमैत्री मुलुक निर्माणको जिम्मेवारी लिन आग्रह गरेका छन् ।

काठमाडौँस्थित नारायणगोपाल चोकको अरिकल इभेन्ट्समा आयोजित कार्यक्रममा काठमाडौँमा उपलब्ध दोलखाली युवाहरुले महामन्त्री थापालाई आसन्न १५ औँ महाधिवेशनमा पार्टीको नेतृत्व लिन र देशले हाल बेहोरिरहेको संकट समाधान गरी समुन्नत मुलुक निर्माणको जिम्मेवारी लिन आग्रह गरेका हुन् । 

कांग्रेस केन्द्रीय सदस्य एवं दोलखा कांग्रेसका प्रभावशाली युवा नेता अजयबाबु शिवाकोटीले संयोजन गरेको उक्त अन्तरक्रियामा नेपाली कांग्रेस दोलखाका युवा नेताहरूले महामन्त्री थापालाई कांग्रेसलाई देशकै पहिलो र भरोसायोग्य पार्टी निर्माणका लागि नेतृत्व लिन आह्वान गरेका थिए ।


 
कार्यक्रममा महामन्त्री थापाले मुलुकले व्यहोरेको जेन-जी आन्दोलनको मर्म र भावनालाई आत्मसात् गरेर पार्टीलाई आम नागरिकको भरोसायोग्य कांग्रेस बनाउने गरी आफूहरु लागिपरेको बताएका छन् । 

उनले नागरिक दलसँग रिसाएको परिस्थिति बुझेरै भदौ ८ गते आफूले संसदमा बोलेर सुधारको विषयमा गरिएको आग्रहलाई सम्झिदै जे नहुनु भैसकेकोले अब सुधारको बाटोमा लाग्ने गरी आफूहरुले अभियान शुरू गरेको जनाएका छन् ।

महामन्त्री थापाले दोलखाका युवालाई पार्टीको विधि विधान र वर्तमान परिस्थितिलाई मध्यनजर गरी अघि बढ्न आह्वानसमेत गरेका छन् । उनले तोकिएको समयमै महाधिवेशन हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै युवालाई सोही अनुसार तयारी गर्न र संकटको बेलामा परिवर्तनका पक्षधरहरूप्रति आभार व्यक्त गरे ।

महामन्त्री थापाले युवाहरुलाई सबै तहको अधिवेशन सम्पन्न गर्न र समयमा महाधिवेशनको वातावरण बनाउन आग्रह गरेका छन् । दोलखामा जन्मिएका शिखर पुरुष स्व. भीमबहादुर तामाङलाई सम्झिदै महामन्त्री थापाले दोलखा जहिले पनि सत्य, निष्ठा र परिवर्तनको पक्षमा अगाडि बढ्ने जिल्ला भएको उल्लेख गर्दै तामाङको महत्वपूर्ण वाणी द्वन्द्व मेटिने र पहिचान भेटिने भनाई आज पनि सान्दर्भिक रहेको बताए । 


। 
कार्यक्रममा विश्वसाइकल यात्री पुस्कर शाह, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य पारस तामाङ, पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, महाधिवशन प्रतिनिधि एवं युवा नेता हस्त थामी, महिला नेतृ विनिता अधिकारी , महाधिवेशन प्रतिनिधिहरु खुबराज आचार्य बासु , च्याङा शेर्पा , कांग्रेस नेता एवं व्यवसायी राजन श्रेष्ठ , युवा नेता रबिन लामा, जनजाति संघका केन्द्रीय सचिब आङपासाङ शेर्पा, स्वर्गीय श्यामशुन्दर तामाङकी धर्मपत्नी पास्दीकी शेर्पा तामाङ, थामी समाजका केन्द्रीय अध्यक्ष रणबहादुर थामी, भीमेश्वर नगर सभापति शंकर कार्की, कालिञ्चोक गाउँपालिका सभापति सञ्जीव पाण्डे, दोलखा काठमाडौँ सम्पर्क समिति सभापति सरोज शिवाकोटी लगायतका नेताहरुले महामन्त्री थापालाई दोलखाको तर्फबाट आवश्यक सहयोग दिलाउने प्रतिबद्धता जाहेर गर्दै दृढताका साथ अघि बढ्न आग्रह गरे । 

करिब १ सय ५० भन्दा धेरै उत्साहित युवाको उपस्थिति रहेको उक्त कार्यक्रमले कांग्रेसमा थप उत्साह जगाएको बताउँदै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले समुन्नत दोलखा निर्माणमा युवाको महत्वपूर्ण भूमिका रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ