ताथली गढी र हलालगाउँ सिँढी आन्तरिक पर्यटकको आकर्षक गन्तव्य
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
665
Shares
काठमाडौँ। चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित ताथली गढी र मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ। स्थानीय इतिहास, प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैली नजिकबाट नियाल्न चाहनेहरू यो क्षेत्रमा आकर्षित भएका छन्।
ताथली गढी क्षेत्र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ, जहाँ पुरातात्विक महत्त्वका सम्पदाका अवशेष पाइएका छन्। यहाँको आइतबारे र ठूलोपाखा वनस्थित गढीबाट काठमाडौँ उपत्यका, बनेपा र काभ्रेका विभिन्न भाग देख्न सकिने भएकाले यो दृश्यावलोकनको लागि उत्कृष्ट स्थल बनेको छ। चाँगुनारायण नगरपालिका–९ का वडासदस्य विद्यापति थापाका अनुसार यहाँ दैनिक सयौँ आन्तरिक पर्यटक आउने गरेका छन्, विशेष गरी शुक्रबार र शनिबार बढी घुइँचो लाग्ने गरेको छ।
चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातका अनुसार उक्त स्थानमा निर्मित ३०० सिँढीसहितको हलालगाउँ–ताथली गढीको सिँढी ले पनि पर्यटकलाई आकर्षित गरेको छ। गढीबाट देखिने मनमोहक दृश्य हेर्न, पदयात्राका निम्ति उपयुक्त स्थल र स्थानीय संस्कृति बुझ्न आन्तरिक पर्यटक आउने गरेका छन्। त्यस क्षेत्रको सल्लाघारी वन, विभिन्न प्रजातिका चराचुरुङ्गीको ध्वनि र मनोरम वातावरणले थप सौन्दर्य बढाएको छ।
आगन्तुक बढेसँगै वडा कार्यालय, वन उपभोक्ता समिति र स्थानीयले सरसफाइ, विश्रामस्थलजस्ता आधारभूत पूर्वाधार निर्माणसँगै प्रचारप्रसार पनि थालेका छन्। दृश्यावलोकनका निम्ति ‘भ्यू टावर’ पनि निर्माण भइरहेको छ र गढी क्षेत्रको दिगो विकासका लागि गुरूयोजना तयार भएको वडाध्यक्ष त्यातले बताए।