भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज एउटा डिजेल ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकल चालक रहेका उनका श्रीमान् गम्भीर घाइते भएका छन्।
काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना ७ ख ९२६६ नम्बरको ट्याङ्करले सोही दिशामा जाँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई लोकन्थली चोक नजिकै ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल कीर्तिपुर बस्ने ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन्। उनको अहिले कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुङ्गानाले जानकारी दिए।
प्रहरीले ट्याङ्कर र त्यसका चालक बारा, जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।