arrow

डोलेश्वरमा महाशिवरात्रिको रौनक: गर्भगृहमै पुगेर पूजा गर्ने व्यवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
doleshowre.jpg

काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा भक्तपुरको प्रसिद्ध 'केदारनाथको शिर' डोलेश्वर महादेव मन्दिरमा आज विशेष पूजा र दर्शनको व्यवस्था गरिएको छ। सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित यस मन्दिरमा भक्तजनका लागि बिहान ४:०० बजेदेखि नै चारै ढोका खुला गरिएको छ।

मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतका अनुसार आज भक्तजनले मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामै छोएर पूजा र पञ्चस्नान गर्न पाउने विशेष व्यवस्था मिलाइएको छ। दर्शनार्थीको चापलाई मध्यनजर गर्दै आधा घण्टाभित्रै पूजा सम्पन्न गर्न सकिने गरी स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्वास्थ्य शिविर र प्रसादीको समेत उचित प्रबन्ध गरिएको छ।

यस वर्ष डोलेश्वरमा नेपाल र भारतका विभिन्न स्थानबाट करिब ४०० साधुसन्त एवं बाबाहरू आएका छन्। समितिका अध्यक्ष धर्मराज बस्नेतले उनीहरूका लागि खानपान र आवासको व्यवस्था मिलाइएको तथा बिदाइका क्रममा श्रेणी अनुसार दक्षिणा, कम्बल र धोती प्रदान गरिने जानकारी दिएका छन्।

आजको दिन करिब एक लाख दर्शनार्थीले डोलेश्वरको दर्शन गर्ने अनुमान गरिएको छ। डोलेश्वरसँगै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहेको आशापुरीमा दर्शनार्थीको सहजताका लागि स्थानीय वडाध्यक्ष पुष्पराज बस्नेतले समन्वय गरिरहेका छन्।

भक्तपुरका अन्य शिवालयहरूमा पनि आज उत्तिकै उत्साह देखिएको छ। साँगास्थित विश्वकै अग्लोमध्येको एक कैलाशनाथ महादेव, सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वर र सुवर्णेश्वर महादेव मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति छ।

त्यस्तै, दत्तात्रय, यातु महादेव र लटरम्बेश्वर मन्दिरमा पनि बिहानैदेखि पूजाआजा भइरहेको छ। चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार छालिङस्थित श्रीकृष्ण वर्तेश्वर र नगरकोटको रत्नचुडेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीका लागि विशेष व्यवस्था मिलाइएको छ। समग्रमा आज भक्तपुरका गल्ली र चोकहरू 'ओम नमः शिवाय' को ध्वनिले गुञ्जायमान भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ