भक्तपुरमा तीन सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
1k
Shares
काठमाडौं । भक्तपुरको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
जिल्ला प्रहरी भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सूर्यबहादुर खड्काका अनुसार कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा बागमती प्रदेश ०२–०२०प ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो। त्यसलगत्तै सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको उनले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय स्कुटर चालक बिमल वनमालाको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनी भक्तपुर नगरपालिका–८ का बासिन्दा हुन्। त्यसैगरी, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २४ वर्षीय राजेश वनमालाको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। दुर्घटनामा परेका तीनवटै सवारीसाधनलाई अहिले प्रहरी वृत्त जगातीमा राखिएको छ।