ठेक्का रुग्ण हुनुमा राजनीतिक नेतृत्वदेखि सचिवसम्म जिम्मेवार छन्ः रवि सिंह
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
750
Shares
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रुग्ण ठेक्का अन्त्य गर्नेभन्दा पनि व्यवस्थापनमा लाग्नुपर्ने बेला आएको बताएका छन्। उनले अहिले भइरहेको ठेक्का अन्त्यको काम केवल प्रचारबाजी मात्र भएको टिप्पणी गरेका छन्।
मङ्गलबार पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले ठेक्का रुग्ण हुनुमा मुख्य जिम्मेवार पात्रहरूलाई औंल्याएका छन्। उनका अनुसार ठेक्का रुग्ण बनाउने प्रमुख जिम्मेवार पात्रहरू राजनीतिक नेतृत्व हुन्। उनले राजनीतिक पार्टीहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित योजनाहरूलाई प्राथमिकता दिएका कारण आयोजनाहरू रुग्ण भएको बताए।
अध्यक्ष सिंहले भने, "ठेक्का रुग्ण बनाउने क्रममा जति राजनीतिक नेतृत्व जिम्मेवार हुन्छ, त्योभन्दा बढी स्थायी सरकारका रूपमा रहने सचिवदेखि योजना प्रमुखसम्म हुनुहुन्छ।" उनले स्थायी सरकारका यी पात्रहरूले नै बहुवर्षीय आयोजनाको नाममा १० लाख बजेट विनियोजन गरेर ४६ करोडको ठेक्का लगाउने गरेको र ठेक्का लगाउनुअघि गर्नुपर्ने पूर्व तयारी नगरी सूचना प्रकाशन गर्ने गरेको बताए। यसरी ठेक्का रुग्ण हुन नदिने कारण खोजेर अघि बढ्नुपर्नेमा रुग्ण ठेक्का अन्त्यका नाममा राजनीति गर्न जरुरी नभएको उनको भनाइ छ।
अध्यक्ष सिंहले अहिले भइरहेको ठेक्का अन्त्यको काम पूर्वाग्राही ढङ्गले भइरहेको र निर्माण व्यवसायी 'भिक्टीम' हुनेगरी ठेक्का तोडिएको आरोप लगाएका छन्। उनले सरकारको यो कदमले निर्माण व्यवसायीहरू धराशायी हुने अवस्थामा पुगेको र निर्माण व्यवसायीलाई समाप्त पार्न खोजिएको बताए। ठेक्का तोड्दा पूर्वाधार क्षेत्र मात्रै नभई आर्थिक क्षेत्र नै प्रभावित हुने उनको धारणा छ। उनले रुग्ण ठेक्का रुग्ण हुन नदिन अहिलेको नागरिक सरकारले नै प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।