arrow

तीन वर्षमा पनि बनेन सभाहल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
sabha-hal-gulmi.jpg

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 

सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयबाट भ्याटसहित रु १४ करोड १७ लाख १३ हजार नौ सय ३७ लागतमा तीन वर्षअघि निर्माण शुरू गरिएको थियो ।

सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिका-४ स्थित अर्खलेमा निर्माणाधीन उक्त सभाहल जिल्लाकै ठूलो र अत्याधुनिक बन्न लागेको हो ।  

सघन सहरी तथा भवन निर्माण आयोजनाका इञ्जिनियर घनश्याम यादवकाअनुसार निर्माणाधीन सभाहलको हालसम्म ७५ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तिय प्रगति भएको छ ।

सभाहल निर्माणको जिम्मा विसं २०७९ कात्तिक २७ गते डीएनडी सत्तेश्वर र्याकेट जेभीले लिएको थियो । 

तोकिएको समयमा काम सम्पन्न नगरेपछि २०८२ चैत मसान्तसम्म म्याद थप गरिएको इञ्जिनियर यादवले बताए ।

उनले यसअघि विभिन्न समस्याका कारण सभाहल निर्माणमा ढिलाइ हुँदा म्याद थप गर्नुपरेको बताए ।   

आगामी चैत मसान्तसम्म सभाहल निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गर्ने गरी काममा तीव्रता दिन निर्माण व्यवसायीलाई आयोजना कार्यालयले ताकेता गरिरहेको छ । 

पाँच रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त सभाहल दुई तलासहित अग्नी नियन्त्रण, भूकम्प प्रतिरोधि, अत्याधुनिक कोठा, गार्डेन, पार्किङ र दुईटा हल गरी आधुनिक किसिमबाट निर्माण हुन लागेको हो । 

सभाहलमा एकातिर एक सय आठ जना क्षमताको बहुउद्देश्यीय र अर्कोतिर चार सय ३२ जना क्षमताको मुख्य हल गरी कूल पाँच सय ४० जना क्षमताको हुने जनाइएको छ । 

सभाहलको सजावटसँगै फर्निचर व्यवस्थापन, गार्डेन र कम्पाउण्ड निर्माण भइरहेको निर्माण व्यवसायी धनिश्वर गौतमले जानकारी दिए । उनले निर्माणको काममा तीव्रता दिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ