प्रतिनिधि सभा निर्वाचनको काउन्टडाउन शुरु: समानुपातिकतर्फको कार्यक्रम आजदेखि
समानुपातिकतर्फको प्रक्रिया आजबाट शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
878
Shares
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी रहेको छ। निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ। प्रतिनिधि सभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ, जसका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन्।
आयोगले आज (मङ्सिर २१ गते) देखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपराह्न ४:०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरिएको छ। समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दिएको जानकारी अनुसार, आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०:०० देखि अपराह्न ४:०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ। यस्तै, आगामी माघ ३० गते समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको छ। कुल २७५ सदस्यीय प्रतिनिधि सभामा ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने प्रावधान छ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ र सोही दिन उम्मेदवारको सूची प्रकाशन हुनेछ। उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ भने माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ। यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय भएको छ।