arrow

नयाँ नीति र सन्देशका साथ सभापतिको उम्मेद्वार हुन्छु : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २० शनिबार
gagan-thapas-ss.jpg

मलङ्गवा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ नीति र सन्देशका साथ आफू सभापतिको उम्मेद्वार हुने बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् ।

उनले नयाँ नेतृत्व चयनका लागि आफू चाँडै नै देश दौडाहामा जाने भन्दै आगामी निर्वाचनमा पनि काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने स्पष्ट पारे ।

पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताए ।

कतिपय नेताले महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने हो कि भन्ने चिन्ता गरिरहेको भन्दै दुवै कार्यक्रमलाई सँगै अगाडि बढाइने बताएका हुन् । 

महामन्त्री थापाले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने बहसमा केही समय खेर गए पनि अब छोटो समयमा महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा सरिक हुने निर्णय भइसकेकाले त्यसमा होमिन सबैलाई आग्रह गरे।

उनले फागुन २१ को निर्वाचनले संविधानमाथिको थप क्षति हुन नदिने बुझाइसहति पार्टीले निर्वाचनको बाटो रोजेको धारणा राखे। 

महामन्त्री थापाले हामी फागुन २१ को निर्वाचनप्रति पूर्ण प्रतिबद्ध रहेकाे उल्लेख गर्दै अन्य दलहरू पनि तयार भइसकेकाले सरकारले सम्पूर्ण संशय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

जेन-जी प्रदर्शनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौती हुनसक्ने कुरा सरकारलाई अवगत गराइसकेको भन्दै थापाले सरकारले समयमै त्यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्नुपर्ने खाँचो औँल्याए ।

उनले प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राखेको सर्वदलीय बैठकमा पनि यस विषयमा ध्यानाकर्षण गराउनुका साथै सबै समूह र राजनीतिक दलले चुनावमा भाग लिन पाउनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ