arrow

जेन-जी आन्दोलनपछि देउवा र ओलीबीच पहिलो भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
oli-deuba-meet-08-19.jpg

काठमाडौँ। जेन–जी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज पहिलो भेटवार्ता भएको छ।

शुक्रबार अपरान्ह अध्यक्ष ओली देउवाको महाराजगञ्जस्थित निवासमा पुगेर यो शिष्टाचार भेटवार्ता गरेका हुन्। जेन जी आन्दोलनले राजनीतिक दलहरूमाथि भ्रष्टाचार र शासकीय बेथितिको अन्त्यका लागि चर्को दबाब सिर्जना गरेको पृष्ठभूमिमा यो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ। 

नेपाली कांग्रेस र नेकपा एमालेको तत्कालीन सरकार रहेका बेलामा जेन–जी आन्दोलन भएको थियो, जसका कारण ओली सत्ताच्युत भएका थिए भने देउवाको निवास बुढानीलकण्ठमा देउवा दम्पतीमाथि भौतिक आक्रमण, आगजनी र तोडफोड भएको थियो।

भेटमा नेकपा एमाले अध्यक्ष ओलीले देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरे। उनीहरूको सचिवालयले जनाएअनुसार, दुई नेताहरूबीच पछिल्लो राजनीतिक र समसामयिक विषयमा पनि छलफल भएको छ। 

भेटवार्तामा सभापति देउवाकी धर्मपत्नी एवं कांग्रेस नेतृ डा. आरजु राणा देउवा र अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ