जनप्रतिनिधि र कर्मचारीको पोषण तथा जीवनशैली सर्वेक्षण शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
777
Shares
काठमाडौँ। काठमाडौँ महानगरपालिका (कामपा) ले सहरी जीवनशैलीका कारण बढ्दै गएको दीर्घरोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवनशैली सम्बन्धी सर्वेक्षण शुरु गरेको छ।
कामपाको कृषि तथा पशुपन्छी विभागले यही मङ्सिर १६ गतेदेखि शुरु गरेको यो कार्यक्रम मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ। विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार सहरी जीवन क्रमशः निष्क्रिय बन्दै गएको र यसैकारण मुटु, मधुमेह, क्यान्सर र श्वासप्रश्वाससहितका दीर्घरोगको जोखिम उच्च रहेकाले यसबाट बच्ने उपाय खोजी गर्न सर्वेक्षण गरिएको हो। सर्वेक्षणबाट प्राप्त हुने नतिजाले कार्यस्थलमा स्वास्थ्य प्रवर्द्धनका लागि नीतिगत सिफारिसका लागि तथ्य प्रदान गर्ने अपेक्षा गरिएको छ।
सर्वेक्षणमा उचाइका आधारमा तौल (BMI) मापन, उमेर र लिङ्गका आधारमा BIA (बायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर ‘बडीफ्याट’, ‘भिसेरल फ्याट इन्डेक्स’, ‘फ्याट फ्री मास’ र ‘टोटल बडी वाटर’ को प्रोफाइल तयार पारिन्छ। यस प्रोफाइलमा कामको प्रकृतिअनुसारको मोटोपना, रक्तअल्पता र जीवनशैलीका सूचक पनि समावेश हुन्छन्।
यसका साथै, जीवनशैली र आचरणअन्तर्गत शारीरिक व्यायाम, कामको तनाव, धुमपान तथा मद्यपानको आदत, सुत्ने समय, ‘डिजिटल ग्याजेट’हरूमा बिताउने समय र कार्यस्थलको वातावरणसम्बन्धी विवरण सङ्कलन गरिन्छ। मधुमेह, हेमोग्लोबिन परीक्षणबाट रक्तअल्पता जाँच गरिनुका साथै खानाको रुचिका आधारमा आहार मूल्याङ्कन र खाद्य समूहको अभिलेखन गरिनेछ।
सर्वेक्षणमा सहभागी ‘भर्टेक्स फुड्स’का अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार स्थानीयस्तरमा उत्पादन भएका खानेकुरा स्वास्थ्यका लागि बढी लाभदायक हुनुका साथै यस्ता खानेकुराको मूल्य तुलनात्मक रूपमा सस्तो हुन्छ। कामपाका कर्मचारी र जनप्रतिनिधिका लागि गरिने यो परीक्षण क्रमशः नागरिक समक्ष पुर्याएर खाद्य आचरण र जीवनशैली सुधारका लागि काम गर्ने कामपाले योजना बनाएको छ।