इलाम । शिलान्यास भएको दुई दशक बित्दासमेत इलामको माइपोखरीमा शहीद उद्यान बन्न सकेन । विभिन्न राजनीतिक दलका नेताले बारम्बार उद्यान निर्माण गर्ने भनेर स्थानीयलाई आश्वासन बाँडे । उद्यानका बनाउने नाममा वर्षै पिच्छे करोडौँ बजेट छुट्याएपनि निर्माणले गति लिन सकेन ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि काँग्रेस नेतृत्वमा प्रजातन्त्रका निम्ति सुरू भएको सशस्त्र सङ्घर्षमा प्राण आहुती दिएकाको स्मृतिमा बन्ने भनिएको उद्यान शिलान्यास भएको २१ वर्ष बित्दासमेत अधुरै रहेको सुलुवुङका युवराज पौडेल बताउँछन् । प्रजातन्त्रका लागि ज्यान दिने शहीदको सम्मान स्वरूप उद्यान बनाउने कुराले सयौँ गाउँले खुसी थिए, स्थानीय प्रेमनाछिरिङ राईले भने, ‘जुन गतिले उद्यान बन्नुप¥थ्यो त्यो भएन र २१ वर्ष पुग्दासमेत उद्यान नबन्दा स्थानीय नै अचम्मित छन् ।’
तत्कालीन सुरक्षा फौजको आक्रमणमा मारिने काँग्रेसका मुक्ति सेनाका सुलुवुङका उदयबहादुर साउदेन, माइपखोरीका डाकमान राई, वीरबहादुर राई, गजबहादुर राई, कर्णबहादुर राईलगायत शहीदको सम्मान र स्मृतिमा बनाउने भनिएको उद्यान अधुरै छ । सशस्त्र सङ्घर्षमा मारिएका सात जनाको स्मृतिमा नेपाली काँग्रेसले आफ्नो अगुवाइमा बनाउने भनिएको उद्यान बजेट अभावले निर्माण थाल्न नसकेको बताइँदै छ ।
पूर्व जिविस सभापति हरि खनालका अनुसार, सरकारी तथा निजी गरी तीन रोपनी जग्गामा निर्माण गर्न लागिएको उद्यान वरिपरी फूलबारी, बगैँचा, चौतारी र बीचमा शहीदस्तम्भ राख्ने योजना थियो । शिलान्यासपछि धेरैले बिर्सिएको उद्यान बनाउने योजनालाई मूर्तरूप दिन काँग्रेसले २०६६ देखि फेरि प्रयास थालेको थियो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको द्वन्द्वोत्तर पुनर्निर्माण कार्यक्रमअन्तर्गत आव २०६७–०६८ मा विनियोजन गरिएको सात लाख खर्च भइसकेको छ । त्यसपछि विनियोजित दुई लाख ५० हजार रूपैयाँ भने फ्रिज भएको छ । मन्त्रालयबाट आएको बजेटले उद्यान वरिपरि काँडेतार लगाउने काम भएको छ ।
एकैपल्ट धेरै बजेट नआउने र कनिकाझैँ थोर–थोरै बजेट आउने गरेकैले निर्माणको कामले गति लिन नसकेको स्थानीय शान्ति समितिका पूर्वसंयोजक होम दुलालको भनाइ छ । जसले गर्दा, पहिले बनेका पूर्वाधार र संरचना समेत भत्किने, नासिने अवस्थामा छन् । देउराली बजारकै कतिपय वासिन्दाले ‘त्यहाँ शहीद उद्यान बन्दै थियो’ भन्ने बिर्सेको देखिन्छ । २०१८ सालमा ज्यान गुमाएका शहीदको स्मृतिमा उद्यान बनाउने भनिएपनि बजेट अभावकै कारण पूरा हुन नसकेको दुलाल बताउँछन् । सशस्त्र सङ्घर्षका क्रममा काँग्रेसको मुक्ति सेनामा हिँडेको र मुक्ति सेनालाई सघाएको आरोपमा सुरक्षा फौजले सात जनाको हत्या गरेको थियो ।