एमालेले ठूला दलहरूको पक्षमा जनमत छ भन्ने सन्देश दिन चाहेको छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
676
Shares
काठमाडौँ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सभामा सहभागी हुने सबैलाई आह्वान गरेका छन् ।
मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीको वन तथा वातावरण विभागले मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा उनले सो आह्वान गरेका हुन् ।
एमाले सो महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा आगामी मंसिर २७ गते हुँदैछ ।
सो सभालाई एमालेले प्रतिगमनविरुद्धको संघर्षको उत्कर्ष र उत्सवको रुपमा मनाउन चाहेको महासचिव पोखरेलको भनाइ थियो ।
उनले सो सभामार्फत एमालेले ठूला दलहरूको पक्षमा जनमत छन भन्ने सन्देश दिन चाहेको पनि स्पष्ट पारे ।
महासचिव पोखरेलले सो सभामा जनता, लोकतन्त्र र देशभक्तिको पक्षमा रहेकाहरू सबै उपस्थित हुने विश्वास समेत व्यक्त गरे ।
उनले भने, ‘हाम्रो पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुर सल्लाघारीको तीनकुने चौरमा नेपालको इतिहासकै सर्वाधिक जमघट भएको समारोहको रुपमा आयोजना गर्न चाहन्छौँ । वास्तवमा नेपालका प्रमुख दलहरूसँग जनता छ कि छैनन् भन्ने कुराको सन्देश हामी त्यो सभाको माध्यामबाट दिन चाहन्छौँ । त्यो प्रतिगमनविरुद्धको संघर्षको पनि उत्कर्ष हुनेछ । र त्यो हाम्रो पार्टी जीवनको एउटा उत्सव हुनेछ । संघर्ष र उत्सवको एउटा क्लाइमेक्सको रुपमा त्यो सभालाई हामीले बनाउन खोजिराखेका छौँ। म देशभरका जनताका पक्षधर, लोकतन्त्रका पक्षधर, देशभक्तिका पक्षधर सम्पूर्ण नेपाली जनतालाई नेकपा एमालेको त्यो उद्घाटन सत्रमा आमन्त्रण गर्न चाहन्छु ।’
महासचिव पोखरेलले एमालेले मुलुकलाई लोकतान्त्रिक लयमा फर्काउन नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको समेत बताए ।