arrow

लोकसेवा आयोगको अधिकारमा हस्तक्षेप भएको भन्दै माइतीघरमा प्रदर्शन [भिडियो]

विद्यार्थीको सरकारमाथि व्यङ्ग्य -पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
loksewa-birosh.jpg

काठमाडौं । लोकसेवा आयोगको अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीहरूले माइतीघरमा विरोध प्रदर्शन जारी राखेका छन्। उनीहरूले साउन ४ गते मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने मुख्य माग राखेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले उक्त निर्णयले लोकसेवा आयोगजस्तो संवैधानिक तथा स्वायत्त निकायको स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप गरेको दाबी गरेका छन्। लोकसेवा आयोगले पदपूर्तिसम्बन्धी विज्ञापन प्रकाशन गर्नुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था संविधानविरुद्ध रहेको उनीहरूको भनाइ छ।

प्रदर्शनमा सहभागी विद्यार्थी दिपक रेग्मीले लोकसेवा आयोगले आफ्नो संवैधानिक अधिकारअनुसार स्वतन्त्र रूपमा पदपूर्ति प्रक्रिया सञ्चालन गर्न पाउनुपर्ने बताउँदै सरकारले गरेको निर्णयले आयोगको स्वायत्तता कमजोर बनाएको आरोप लगाए। साथै, विद्यार्थीहरूले करार सेवामा कार्यरत कर्मचारीमध्ये कार्यसम्पादनका आधारमा १० प्रतिशतलाई मात्र कायम राखी बाँकी ९० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट स्थायी रूपमा पूर्ति गरिनुपर्ने माग राखेका छन्।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने निर्णय गरेको थियो। मुख्यसचिव कार्कीद्वारा हस्ताक्षरित २२ बुँदे निर्णयअनुसार चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि सरकारी कार्यालयले नयाँ दरबन्दी सिर्जना गर्न पाउने छैनन्। सोही निर्णयविरुद्ध विद्यार्थीहरूले केही दिनदेखि प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘खुला प्रतिस्पर्धाको अधिकार खोस्न पाइँदैन’, ‘प्रशासनमा दलीय भागबण्डा बन्द गर, करार कर्मचारी तुरुन्त हटाउ’, ‘स्वतन्त्र संवैधानिक निकायले किन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृत लिनुपर्ने हो ?’, ‘पदपूर्ति रोक्न पाइँदैन, लोकसेवाको अधिकार खोस्न पाइँदैन’, ‘लोकसेवाको कार्यतालिका अनुसार विज्ञापन र परीक्षा कार्यक्रम सञ्चालन गर’, ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ ! एउ... एउ... एउ !!’, ‘सुशासन अनि विधिको शासन र लोकतन्त्रको बारेमा एकचोटि राम्रोसँग पढ्ने पो हो कि सरकार’ लगायतका नाराहरू लेखिएका प्लेकार्डहरू बोकेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ