नागढुंगा सुरुङमार्गसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय शुरू [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
233
Shares
काठमाडौँ। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय शुरू भएको बताएका छन्।
नागढुंगा सुरुङमार्ग उद्घाटन कार्यक्रममा बोल्दै सचिव सिग्देलले कठिन भौगोलिक अवस्थाका बाबजुद राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भए नेपालले महत्वाकांक्षी पूर्वाधार आयोजना सफलतापूर्वक निर्माण गर्न सक्ने बताए।
उनले नागढुंगा सुरुङमार्ग नेपालमा सुरुङ पूर्वाधार विकासको शुरूआत मात्र भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता परियोजना थप विस्तार हुने विश्वास व्यक्त गरे।
सुरुङ निर्माणका क्रममा नेपाली प्राविधिक जनशक्तिले हिमाली सुरुङ निर्माणसम्बन्धी महत्वपूर्ण अनुभव हासिल गरेको र त्यसले भविष्यका पूर्वाधार आयोजनामा ठूलो योगदान पुग्ने उनको भनाइ छ।
सचिव सिग्देलका अनुसार नेपाली र जापानी इन्जिनियरहरूले भूगर्भीय जटिलता, कोभिड-१९ महामारी तथा हिमाली भू-संरचनाका चुनौतीबीच संयुक्त रूपमा काम गर्दै आयोजना सफलतापूर्वक सम्पन्न गरेका हुन्।
उनले नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनसँगै सिस्नेखोला-बलम्बुबीचको यात्रा अब केही मिनेटमै पूरा हुने बताए। यसबाट यात्रुले वर्षौंदेखि भोग्दै आएको ट्राफिक जाम, तीव्र घुम्ती र पहिरोको जोखिमबाट उल्लेखनीय राहत पाउने उनको विश्वास छ।
सचिव सिग्देलले नागढुंगा क्षेत्र काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वार भए पनि राष्ट्रिय सडक सञ्जालकै सबैभन्दा बढी जाम हुने र जोखिमपूर्ण खण्डमध्ये एक रहेको उल्लेख गरे।
उनले आयोजना निर्माणमा सहयोग पुर्याएको जापान सरकारप्रति आभार व्यक्त गर्दै सुरुङमार्गको सुरक्षित सञ्चालन, नियमित मर्मतसम्भार तथा पारदर्शी व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताए। यस परियोजनाबाट प्राप्त लाभ नेपाली जनताले दीर्घकालसम्म प्राप्त गर्ने विश्वास पनि उनले व्यक्त गरे।