सञ्चालनमा आयो नेपालकै पहिलो नागढुङ्गा सुरुङमार्ग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
420
Shares
काठमाडौं । नेपालकै पहिलो अत्याधुनिक ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ को औपचारिक रूपमा उद्घाटन गरिएको छ। सोमबार आयोजित एक विशेष समारोहकाबीच पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको, नेपालका लागि जापानी राजदूत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रूपमा रिबन काटेर सुरुङमार्गको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा ब्राह्मणहरूद्वारा स्वस्तिवाचनसहित पूजापाठ गरिएको थियो भने मन्त्री लम्सालले नेपालतर्फको र जापानी राजदूत तथा जाइकाका अध्यक्षले जापानतर्फको शिलालेखको संयुक्त रूपमा अनावरण गरेका हुन्। उद्घाटनपश्चात मन्त्री लम्सालसहितको उच्च टोलीले सुरुङमार्गको पहिलो यात्रासमेत गरेको छ।
जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न यस आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ। मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ भने इभ्याकुएसन टनेल (निकास मार्ग) र क्रस–प्यासेजहरूसमेत जोड्दा कुल सुरुङको लम्बाइ करिब ५.५ किलोमिटर पुग्छ।
जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले वि.सं. २०७६ सालदेखि यसको निर्माण कार्य सुरु गरेको थियो। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलामा टुङ्गिने यस आयोजनामा मुख्य र उद्धार गरी दुईवटा सुरुङमार्ग रहेका छन्।
सुरुङमार्गको परीक्षणकालीन अवस्थामा तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र प्रवेश दिइने सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिएका छन्। सुरुङमार्गलाई चरणबद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइनेछ। यस सुरुङमार्गभित्र मोटरसाइकल, साइकल लगायतका दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारी साधन, पैदलयात्री तथा प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारी साधनहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ।
परीक्षणको क्रममा सुरुङमार्ग प्रयोग गर्दा कुनै पनि शुल्क लिइनेछैन भने परीक्षणकाल समाप्त भएपछि सवारीसाधनको प्रकारअनुसार शुल्क लाग्नेछ। सडक विभागका अनुसार कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ, मिनीबस, साना ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, तथा बस र ठूला ट्रकले काठमाडौँ आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।